काबेली करिडोर प्रसारण लाइन संचालन « Nagarik Khabar

काबेली करिडोर प्रसारण लाइन संचालन



काठमाडौं । काबेली करिडोर १३२ केभी डबर सर्किट प्रसारण लाइन आयोजनाको दोस्रो खण्ड संचालनमा आएको छ । गोदक (इलाम)–फिदिम (पाँचथर)को मंगलबार साँझ ५ः२० बजेबाट संचालनमा (चार्च) आएको आयोजना प्रमुख दीपेन्द्रराज द्धिवेदीले जानकारी दिए ।
‘शनिबारबाट परीक्षण प्रसारण सुरु गरेका थियौं गोदक–फिदिम खण्ड मंगलबार साँझ५ः२०मा र दमक–(लखनपुर,झापा) – फिदिम खण्ड साँझ ६ः१० बजे चार्च गर्न सफल भएका छौं’,उनले भने । इलामको सोयाकबाट एउटा लाइन गोदक र अर्को लाइन लखनपुरतर्फ लगिएको छ । सोयाकबाट दुवै लाइन पाँचथरको फिदिमस्थिति थापाटार सबस्टेसनमा जोडिएको । ४२.८८ किलोमिटर लम्बाई भएको प्रसारण लाइनको दोस्रो खण्डमा १२६ वटा टावर छन् ।

फिदिम–अमरपुर (पाँचथर) तेस्रो खण्डको निर्माण अगामी असारभित्रमा सम्पन्न गरी प्रसारण लाइन सञ्चालनमा ल्याइने उनले बताए । पाँचथर र ताप्लेजुङमा रहेका कावेली, हेवा, माई लगायतका खोलामा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत प्रवाहका लागि कावेली करिडोर निर्माण गरिएको हो । झापाको लखनपुरबाट सुरु भएको ९१ किलोमिटर प्रसारण लाइन इलाम, पाँचथर, तेह्रथुम हुँदै पाँचथरकै अमरपुरसम्म पुग्छ । प्रसारण लाइनलाई तीन खण्डमा विभाजन गरी निर्माण गरिएको हो । आयोजनाले निर्माण गर्नु पर्ने २६१ वटा टारमध्ये तेस्रो खण्डको एउटाको मात्रै काम बाँकी छ ।

लखनपुर–गोदक पहिलो खण्डको ३५ किलोमिटर प्रसारण लाइन २०७२को असोजबाटै सञ्चालनमा आइसकेको छ । आयोजनाले यसअघि नै दमक, गोदक, थापाटार (फिदिम) र अमरपुरमा १३२/३३/११ केभी सबस्टेसनको निर्माण सम्पन्न गरी संचालनमा ल्याइसकेको छ । प्रसारण लाइनको बाटो (राइट अफ वे)मा पर्ने जग्गाको सत् प्रतिशत क्षतिपूर्ति दिनु पर्ने, रुट परिवर्तन गर्नु लगायतका माग राखी इलामको मंगलबारे, चमैता, सिद्धिथुम्का पाँचथरको फिदिम जोरसाल क्षेत्रका स्थानीयले प्रसारण लाइन निर्माणमा अवरोध गरेका थिए । समस्या समाधानका लागि विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ गत वर्ष आफैं आयोजनास्थलमा पुगेर स्थानीयसँग छलफल गरेका थिए ।

काबेली करिडोरको दोस्रो खण्डमा निजी क्षेत्रले निर्माण गरेका १४.९ मेगावाटको हेवाखोला ‘ए’ र २२.१मेगावाटको तल्लो हेवाखोला जलविद्युत् आयोजना जोडिने छन् । हेवाखोला ‘ए’ अहिले सञ्चालनमा छ भने तल्लो हेवाखोला निर्माणको अन्तिम चरणमा छ । हेवाखोला ‘ए’को विद्युत् अहिले अस्थायी रुपमा ३३ केभी प्रसारण लाइनमा जोडिएको छ । दुवै आयोजना थापाटार सबस्टेसनमा जोडिने छन् । कावेली करिडोर प्रसारण लाइन निर्माण करिव १० वर्ष अघि सुरु गरिएको थियो । ठेकेदारको कमजोर कार्यसम्पादन, प्रसारण लाइनको ‘राइट अफ वे’मा स्थानीयको अवरोध,रुख कटान स्वीकृतिमा भएको ढिलाइ लगायतले आयोजनाको काम ढिलाइ भएको हो ।
३ करोड १० लाख अमेरिकी डलर अनुमानित लागत रहेको आयोजना नेपाल सरकार तथा विद्युत प्राधिकरणको लगानी र विश्व बैकको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: