काम नगर्ने ठेकेदार र कम्पनीमाथि कडा कार्वाही गर्ने (भिडियोसहित) « Nagarik Khabar

काम नगर्ने ठेकेदार र कम्पनीमाथि कडा कार्वाही गर्ने (भिडियोसहित)



काठमाडौं । सरकारले  सार्वजनिक खरिद ऐन’ संशोधन गर्ने तयारी गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले विकास, निर्माणको कामलाई तीव्रता दिने गरी सार्वजनिक खरिद ऐन संशोधनको तयारीको कामलाई अघि बढाइएको जानकारी दिएका हुन ।

बुधबार संघीय संसद अर्थ समितिको बैठकमा बोल्दै उहाँले चालू वर्षे अधिवेशन भित्रै सार्वजनिक खरिद ऐन संशोधन विधेयक पारित गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । सरकारले सार्वजनिक खरिदका लागि आवश्यक नियमावली भने मन्त्रीपरिषदबाट पारित गरिसकेको छ । अर्थमन्त्री खतिवडाले सो नियमावलीमा आयोजना लिने तर काम नगर्ने ठेकेदार कम्पनीमाथि कडा कार्वाही गर्ने व्यवस्था पनि गरिएको समितिलाई जानकारी गराए ।

बैठकमा समितिका सदस्यहरुले तत्काल सार्वजनिक खरिद ऐन संशोधन गर्न सरकारसँग माग गरेका थिए । समितिका सदस्य एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले एउटै आयोजना वर्षौसम्म पूरा नहुने अवस्थाको अन्त्य गर्न पनि सार्वजनिक खरिद ऐन संशोधन गर्नुको विकल्प नरहेको पनि स्पष्ट पारे । उनले सार्वजनिक खरिद ऐन संशोधन गरी आयोजनाकोहरुको काममा तीव्रता दिन पनि सरकारलाई सचेत गराए ।

समितिका अर्का सदस्य डा. बाबुराम भट्टराईले आर्थिक वृद्धिलाई जोड दिएर आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारलाई सुझाव दिए । उनले सरकारले ल्याएको नीति तथा कार्यक्रमले आर्थिक भन्दा पनि राजनीतिक पक्षलाई जोड दिएकोमा असन्तुष्टि पनि व्यक्त गरे । पूर्व प्रधानमन्त्री र पूर्व अर्थमन्त्री समेत रहनु भएका भट्टराईले दीगो विकास लक्ष्य हासिल हुने गरी बजेट ल्याउन पनि सरकारसँग आग्रह गरे ।

बैठकमा अर्थ समितिले विभिन्न उपसमिति बनाएर देशका मुख्यमुख्य सहरमा अन्तरक्रिया गरी तयार पारेको बजेटसम्बन्धि सुझाव पनि अर्थमन्त्री खतिवडालाई बुझाइएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: