सेना, प्रहरी र सशस्त्रको राशन भत्ता बढ्दै ! « Nagarik Khabar

सेना, प्रहरी र सशस्त्रको राशन भत्ता बढ्दै !



काठमाडौं । सुरक्षा निकायमा कार्यरत कर्मचारीलाई चार वर्षपछि राशन भत्ता बढ्ने भएको छ । सरकारले कर्मचारीको तलब बढाउने हल्ला चलिरहेका बेला सुरक्षा निकायमा कार्यरत कर्मचारीहरुको राशन भत्ता बढाउन चार वर्षपछि गृहमन्त्रालयले अर्थ मन्त्रालयमा प्रस्ताव गरेपछि उनीहरुको भत्ता बढ्ने भएको हो ।

गृहमन्त्रालका सहसचिवको नेतृत्वमा बसेको राशन पुनरावलोकन समितिले तीन वटै सुरक्षा निकायका कर्मचारीको राशन भत्ता २० प्रतिशत बढाउने प्रस्ताव गरेको हो । २०७२ सालमा सरकारले सुरक्षा निकायको राशन भत्ता ५ हजार २ सय ५० निर्धारण गरेपछि बढेको छैन ।

गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सुरक्षा निकायमा कार्यरत कर्मचारीको राशन भत्ता पुनरावलोकनका लागि समिति बनेर काम भैरहेको बतएका छन् । ‘राशन भत्ता बढाउने विषयमा एउटा समिति बनेको छ, त्यसले काम गरिरहेको होला,’ उनले भने । सो समितिलाई पुनरावलोकन गरेर पठाउने जिम्मा दिएकाले सबै कुरा आफूलाई थाहा नभएको पनि सहसचिव सुवेदीले बताए ।

नेपाल प्रहरीको आर्थिक प्रशासन शाखाका प्रमुख एसएसपी दीपक थापाले आर्थिक वर्षको शुरुदेखि राशन भत्ता बढ्ने बताए । उनका अनुसार भत्ता ठाउँ हेरेर १५ देखि २० प्रतिशत बढ्नेछ । ‘चार वर्षदेखि राशन भत्ता बढेको थिएन,’ उनले भने, ‘यो वर्ष सबै सुरक्षा निकायमा कार्यरत कर्मचारीको राशन भत्ता बढ्ने भएको छ ।’

सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपिएफ)को रासन भत्ता बढाउन प्रस्ताव गरिसकेको छ । नेपाल राष्ट्र बंैकले प्रक्षेपण गरेको महँगीअनुसार राशन भत्ता १५ देखि २० प्रतिशत बढाउनु उपयुक्त देखिएकाले सोहीअनुसार पुनरावलोकन समितिले प्रस्ताव गरेको हो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको करिब सवा लाख जनशक्तिका लागि रासन भत्तामा मासिक ७० देखि ८० करोड रुपैयाँसम्म खर्च हुन्छ । सेनाका लागि भने दुवै संगठन बराबरको खर्च हुने गरेको छ ।

यातायातको सुविधा पुगेका हिमाली जिल्लाका केही स्थानमा राशन भत्ता १० हजार रुपैयाँ हाराहारीमा रहेको छ । त्यसैगरी हेलिकोप्टरबाट ढुवानी हुने स्थानमा १५ देखि १८ हजार रुपैयाँसम्म रहेको छ । प्रहरीको राशन स्थानीय जिल्ला सुरक्षा समितिले निर्धारण गर्नेछ । ‘ठाउँ विशेषलाई ध्यानमा ढुवानी र तथा त्यहाँको स्थानीय अवस्थालाई हेरेर राशन भत्ता निर्धारण हुनेछ । आर्थिक प्रशासन महाशाखाका अनुसार कहीँ ८ हजार छ भने कहीँ ७ हजार ५ सय रुपैयाँ रहेको छ । शुरु स्केल ५ हजार २ सय ५० हो ।

सशस्त्र प्रहरी र नेपाल प्रहरीमा राशन बापतको रकम बैंक मार्फत भुक्तानी हुने गरेको छ भने ब्यारेक भएका स्थानमा मात्रै ठेकेदारले ढुवानी गर्नेछन् । तर, नेपाली सेनामा भने अहिले पनि ठेकेदारबाटै ढुवानी हुने गरेको छ । सरकारले निर्धारण गरेको राशन स्केल भने नेपाल प्रहरीलाई १४, सशस्त्र प्रहरीलाई १८ र नेपाली सेनालाई १९ थरीको राशन स्केल रहेको छ । तर, नेपाल प्रहरी र सशस्त्र प्रहरीमा नगदै बुझ्ने भएपछि त्यसको अर्थ छैन ।

‘नेपाल प्रहरी र सशस्त्र प्रहरीका कर्मचारीले बैंकमार्फत नगदमै भुक्तानी लिने गरेकाले कुन संगठनमा कुन स्केलको राशन हुन्छ भन्नुको अर्थ छैन,’ सशस्त्र प्रहरी बलका एक अधिकारीले भने । अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा कार्यरत कर्मचारीको बैंक खातामा ५ हजार २ सय ५० रुपैयाँका दरले रकम जम्मा हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: