संसदीय समितिको ठहर : सार्वजनिक खरिद कार्यालयको कामकारवाही प्रभावकारी भएन « Nagarik Khabar

संसदीय समितिको ठहर : सार्वजनिक खरिद कार्यालयको कामकारवाही प्रभावकारी भएन



काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध समितिअन्तर्गतको उपसमितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सार्वजनिक खरिद कार्यालयको कामकारवाही प्रभावकारी हुन नसकेको ठहर गरेको छ ।

प्रतिनिधिसभाअन्तर्गतको अन्तराष्ट्रिय सम्बन्ध समितिअन्तर्गतको वाइडबडी विमान खरिद प्रकरणको छानविन गर्न गठित उपसमितिले अध्ययनका क्रममा सार्वजनिक खरिद कार्यालयको काम कारवाही सन्तोषजनक नभएको निष्कर्ष निकालेको हो ।

वाइडबडी विमान खरिद प्रक्रियासँग जोडिएका संघ संस्था र निकायसँगको छलफल र अनुगमनको क्रममा उपसमितिले सार्वजननिक खरिद कार्यालय स्रोत साधनको चरम अभावमा रहेको र सोही कारण प्रभावकारी ढंगले काम गर्न नसकेको फेला पारेको हो । सार्वजनिक खरिदका विषयमा नयाँ ऐन आवश्यक रहेको वा संशोधन गर्नुपर्ने तथा नीतिगत अन्य परिवर्तनका सामान्य विषयमा पनि कार्यालयले गृहकार्य नगरेको पाइएको उपसमिति संयोजक दीपक भट्टले जानकारी दिए ।

समितिको बुधबारकै बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडिया र भियतनाम भ्रमणबारे समितिलाई जानकारी गराए । भियतनाम भ्रमणबाट त्यहाँको आर्थिक विकासको गतिबारे जानकारी लिनुको साथै दुई मुलकबीच प्रत्यक्ष हवाइसेवा जोड्ने तथा दुवै देशका कुटनीतिक र सरकारी राहदानी वहाकहरुलाई भिषा फ्रि गर्नेलगायत विषयमा छलफल हुने परराष्ट्र मन्त्री ज्ञवालीले जानकारी दिए ।

बैठकमा समिति सदस्य भीम रावलले बेलायती गोर्खा सैनिकहरु र नेपालको सीमा क्षेत्र सुरक्षाका विषयमा यसअघि गरेको निर्देशन कार्यान्वयबारे मन्त्रालयको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: