अस्थायी शिक्षकको माग पूरा गर्न सकिँदैन : शिक्षामन्त्री पोखरेल (भिडियोसहित) « Nagarik Khabar

अस्थायी शिक्षकको माग पूरा गर्न सकिँदैन : शिक्षामन्त्री पोखरेल (भिडियोसहित)



काठमाडौं । सरकारले अस्थायी शिक्षकलाई स्थायी गराउन नसकिने स्पष्ट पारेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अस्थायी शिक्षकहरुको स्वतः स्थायी बनाउनुपर्ने माग सम्बोधन गर्न नसकिने बताएका हुन् ।

बुधबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा मन्त्री पोखरेलले एक पटक लिइएको परीक्षामा अनुत्तीर्ण अस्थायी शिक्षकहरुलाई सरकारले चालु शैक्षिक सत्रभित्रै सम्मानका साथ बिदाई गर्ने योजना रहेको प्रष्ट पारे । ‘सरकारले लामो समयसम्म कार्यरत अस्थायी शिक्षकहरुलाई स्थायी गराउन एक पटक परीक्षा लिएको थियो,’ उनले भने, ‘अब त्यसरी पुनः परीक्षा लिएर स्थायी गराउन कानुनले नै मिल्दैन ।’

मन्त्री पोखरेलले गुणस्तरीय शिक्षामा जोड दिइरहेका बेला परीक्षामा अनुत्तीर्ण भएका अस्थायी शिक्षकहरुलाई स्वतः स्थायी गर्न व्यवहारिक समेत स्मरण गराए । उनले भने, ‘अस्थायी शिक्षकहरुलाई आर्थिक सहायतासहित बिदाई गर्न सरकार लागिपरेको छ । ’

बैठकमा समितिका सदस्यहरुले लामो समयसम्म कार्यरत अस्थायी शिक्षकहरुलाई रोजगारीको व्यवस्था गर्न सरकारसँग माग गरेका थिए । समितिकी सदस्य रेखा कुमारीले लामो समय कार्यरत अस्थायी शिक्षकहरुको पीडालाई सम्बोधन गरेर अघि बढ्न सरकारको ध्यानाकर्षण गराएकी थिइन् । कतिपय अस्थायी शिक्षकहरु अपांगता समेत भएकाले उनीहरुको जीविकोपार्जनको व्यवस्था सरकारले गर्नुपर्ने उनको माग थियो ।

बैठकमा समितिअन्तर्गतको शिक्षा उपसमितिले तयार पारेको प्रतिवेदन मन्त्री पोखरेललाई बुझाइएको थियो । प्रतिवेदनमा शिक्षक दरबन्दी तत्काल मिलान गर्न सरकारलाई सुझाव दिइएको छ । त्यसैगरी सार्वजनिक विद्यालयहरुको पठनपाठनलाई व्यवस्थित बनाउन पनि सरकारलाई सचेत गराइएको उपसमितिका संयोजक उमेश श्रेष्ठले जानकारी दिए ।

यता, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलले शिक्षकहरुको दरबन्दी मिलानमा ढिलाइ हुने प्रतिवद्धता व्यक्त गरे । उनले प्राविधिक तथा व्यवसायिक शिक्षकहरुको अभाव तत्काल पूरा हुने गरी सरकारले आवश्यक कानुनको व्यवस्था गर्ने तयारी गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: