किन संवाद नचाहनु भएको प्रधानमन्त्री ज्यू, ? « Nagarik Khabar

किन संवाद नचाहनु भएको प्रधानमन्त्री ज्यू, ?



  • नेकपाका नेता बामदेव गौतमले एउटा टेलिभिजन अन्तरवार्तामा केही समय पहिले भन्दै हुनुहुन्थ्यो–’पार्टी भित्र दुई अध्यक्षका बिच छलफल हुन्छ होला, हामीसँग त हुँदैन ।’ 
  • प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पूर्वतिरको एउटा सभालाई सम्बोधन गर्दै हुनुहुन्थ्यो र त्यहाँ भन्नुभयो–’दुई अध्यक्षबिच छलफल भएकै छ, मैले के गर्ने, के नगर्ने भनेर भीम रावल(नेकपाका नेता)लाई सोधिरहन पर्दैन ।’
  • संसद्मा चिकित्सा शिक्षा सम्बन्धी विधेयक निर्णयार्थ पेस भयो, बिपक्षीदलले अवरोध गरिरहँदा एक पटक पनि संसद् बैठक स्थगित गरेर विपक्षीसँग छलफल गर्न आवश्यक ठानिएन ।
  • सिके राउतसँग सम्झौता गर्दा संसद्मा प्रतिनिधित्व गर्ने दलसँग संवाद नै आवश्यक ठानिएन, न त विप्लव समूहलाई प्रतिबन्ध लगाउने विषयमा कुनै छलफल आवश्यक ठानियो ।
  • संसद्मा नीति तथा कार्यक्रम पेस गर्दा सम्माननीय राष्ट्रपतिलाई ‘मेरो सरकार’ भन्न लगाइयो । यो विषयमा सरकार वा सत्तारुढ दल भित्र पनि छलफल आवश्यक ठानिएन ।
  • नीति तथा कार्यक्रम पास गर्दा विपक्षीले विरोध गरिरहे, एक पटक पनि छलफल गर्न आवश्यक ठानिएन ।
  • संसद्को रोष्टममा उभिएर प्रधानमन्त्रीले ‘रुलिङ’ गर्नुभयो, संवाद गर्न चाहनु भएन ।

यी केही प्रतिनिधि घटनाहरू हुन्, जसले प्रधानमन्त्रीले संवादमा रुचि राख्नुहुँदैन भन्ने देखाउँछ । तर, लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष संवाद हो । लोकतन्त्रलाई संवाद नै संवादले उन्नत बनाउँछ भनेर नै संसदीय पद्धतिलाई लोकतन्त्रको एउटा अभिन्न अङ्गको रूपमा स्विकारिएको हो र अब संसद् विनाको लोकतन्त्रको कल्पना समेत गर्न सकिँदैन । संसद्ले बहुमत अथवा दुई तिहाइले कानुन बनाउन, खारेज गर्न सक्छ । यो प्रक्रियाको कुरा हो । तर, त्यो भन्दा पहिले संसद्मा प्रशस्त संवाद हुनुपर्दछ र सबैका बिचमा सहमति जुटाएर बनाएको कानुन सर्व स्वीकार्य हुन्छ र त्यसको कार्यान्वयन सहज हुन्छ भन्ने मान्यता संसदीय व्यवस्थाका पक्षधरमा रहेको हुन्छ ।

संवादलाई राजनीतिशास्त्रीले यस्तो अस्त्रका रूपमा व्याख्या गर्ने गर्दछन्, जुन अस्त्रले दुई पक्षबीचका चट्टानी अडानलाई पनि अन्ततः एकै विन्दुमा ल्याएर सहकार्यको परिस्थिति निर्माण गर्ने सामर्थ्य राख्दछ । नेपालको सन्दर्भमा हेरौँ, तत्कालीन बिद्रोही माओवादी र राज्य पक्षबीच प्रारम्भ भएको संवादले एउटा यस्तो अवस्था निर्माण गरिदियो, जसलाई हामी नेपालको मौलिक शान्ति प्रक्रिया भनेर गर्व गर्दछौ ।

सरकार बलियो छ, यो सरकार जनताको मतद्वारा नै बनेको हो । लोकतान्त्रिक पद्धतिमार्फत बनेको यो स्थिर सरकार देशको समुन्नतिका लागि ठुलो अवसर पनि हो । बहुदलीय लोकतन्त्र भएका मुलुकमा यस्तो सरकार निर्माण पनि यदाकदा मात्र हुने गरेको पाइन्छ । नेपालले प्राप्त गरेको यो अवसरको सदुपयोगका लागि सरकार नै अग्रसर हुनुपर्दछ । सरकार भन्नाले यसको नेतृत्व कर्ता अर्थात् प्रधानमन्त्री स्वयं अग्रसर हुनुपर्ने हो । आफू जुन विधिबाट निर्वाचित भएको त्यो विधि अर्थात् लोकतान्त्रिक विधि र संस्कृतिलाई अझ परिपक्व बनाउने दायित्व पनि प्रधानमन्त्रीको हुन्छ । तर, प्रधानमन्त्रीले संवादको संस्कृतिलाई पटक्कै नरुचाएर लोकतन्त्रको सुन्दरतामा छायाँ पार्ने काम गर्दै हुनुहुन्छ ।

उहाँले संवाद चाहनुहुँदैन भन्ने कुरा त स्पष्ट रूपमै देखिएको छ । अरूको कुरै नसुन्ने, अरूका कुरालाई गलत नै ठान्ने र कुनै महत्त्व नदिने संस्कार पनि उहाँमा देखिन थालेको छ । नीति तथा कार्यक्रम माथि उठेका सवालहरूको जवाफ दिँदै गर्दा उहाँले व्यक्त गरेको बिचार त्यो ओहदाको व्यक्तिबाट आउन सुहाउँदैन । त्यति मात्रै हैन, संसदीय मान्यताको विपरीतको अभिव्यक्ति हो त्यो ।

संसद्मा उठेका सवालहरू ‘निम्छरा’ हुँदैनन् । त्यहाँ उठ्ने सवालले त प्रतिपक्षीले जनताको प्रतिनिधित्व गरेको छ कि छैन ? भन्ने देखाउँछ र सरकारलाई आफ्ना काम कारबाहीका बारेमा जनतालाई थप स्पष्ट पार्ने अवसर दिन्छ । प्रतिपक्षी कति जिम्मेवार भयो ? र उसले कति सही कुरा उठाउँदै छ ? भनेर जनताले मूल्याङ्कन गरिहाल्छन् । सरकारले त संसद्मा उठेका सवालमा उभिएर आफूलाई थप स्पष्ट, पारदर्शी बनाउने र आफ्ना विरुद्धका भ्रमलाई चिर्ने अवसरका रूपमा ती सवाललाई लिनु पर्ने हो । प्रधानमन्त्रीमा संसदीय अभ्यासका क्रममा कसरी अवसर छोप्ने भन्ने कुराको हेक्का नदेखिनुका पछाडि उहाँमा नभएको संवादहिनताको संस्कृति नै कारक तत्त्व हो ।
आफै प्रति आवश्यकता भन्दा बढी गर्व गर्ने, कटु भाषामा प्रत्युत्तर दिने, क्रोध प्रकट गर्ने, आफ्नो कुरा मात्र सही ठान्ने र अरूको कुराको अनादर गर्ने प्रवृत्तिलाई शास्त्रले मूर्ख प्रवृत्ति मानेको छ । यी पाँच गुणलाई आधार मानेर हरेकले आफ्नो स्वमुल्यांकन गर्न सक्दछ । यी गुणहरूलाई राजनैतिक संस्कारको दृष्टिबाट हेर्दा लोकतान्त्रिक संस्कृतिका अबरोधकका रूपमा गणना गर्न सकिन्छ ।

अहिलेका सत्ता सञ्चालकहरूमा यस्तै गुणहरू व्याप्त हुन थालेको छ । प्रधानमन्त्री लेनै संवाद नचाहेपछि र त्यसको अनुसरण अन्य मन्त्रीले पनि गर्न थालेका छन् । यही नै दुई तिहाइ सरकारको मूल चरित्र हो भनेझैँ गरी मन्त्रीहरू प्रस्तुत हुन थालेका छन् । कानुन निर्माण हुँदा होस् वा अन्य कुनै रणनीति निर्माण गर्दा सरोकारवालासँग संवाद गर्न कुनै पनि मन्त्रालय तयार देखिँदैनन् । आफ्नो कामको एकोहोरो प्रशंसा गर्न चाहन्छन् । प्रतिक्रिया सुन्ने आवश्यकता कसैले महसुस गरेका छैनन् ।

मिडिया र बौद्धिकवर्गले कुनै सन्दर्भमा छलफल गर्न थाले भने प्रधानन्त्रीले स्वयंले पत्रकार र बुद्धिजीवीका प्रति कटाक्ष गर्नुहुन्छ । नीति तथा कार्यक्रममा ‘मेरो सरकार’ शब्दावली प्रयोगका सन्दर्भमा भएका टिका टिप्पणीले उहाँको ध्यानाकर्षण भएन । उहाँको जवाफ रह्यो, ‘विश्वका अभ्यासको अध्ययन नै नगरी टिप्पणी गर्ने ? यो शब्दावलीको प्रयोग टुत्रीपूर्ण आएको होइन, सुविचारित शब्दावली हो ।’ उहाँ अरूहरूबाट उठेका सवाललाई ओठे प्रतिक्रिया दिन सिपालु हुनुहुन्छ । उहाँको यही सिपले उहाँलाई संवादको संस्कृतिबाट टाढा पु¥याइदिएको छ । संवादको संस्कृतिभन्दा टाढा रहनु भनेको लोकतान्त्रिक संस्कृतिबाट पनि टाढा हुनु हो ।

जनतासँगको संवादले नै लोकप्रियता हासिल गर्न सकिन्छ र जनताका आवश्यकता पुरा गर्दै उनीहरूको चाहना समेत पुरा गर्ने मार्ग पहिल्याउन सकिन्छ । जनतासँगको संवादका लागि निर्मित संसद्मा उहाँ संवाद चाहनुहुन्न । संसद्मा उठेका कुरालाई ‘आक्रोश, कुण्ठा र निम्छरा’ ठान्नुहुन्छ । आफ्नै सांसदलाई संसद् बैठक भन्दा पहिले बोलाएर ‘संसद्मा नबोलेर नीति तथा कार्यक्रम पास गर्न’ निर्देशन दिनुहुन्छ ।

संवादले सहजता पनि ल्याउँछ प्रधानमन्त्री ज्यू, तपाईँले देखेका सपना पुरा हुनका लागि संवादको संस्कृतिले निक्कै नै मद्दत गर्ने छ । संसद्मा संवाद गर्नुस् । पार्टी भित्र संवाद गर्नुस् । नागरिक समाजसँग संवाद गर्नुस् । मिडियासँग संवाद गर्नुस् । अन्य राजनीतिक शक्तिसँग संवाद गर्नुस् । त्यसका लागि अरूको कुरा पनि सुन्ने बानीको विकास भने अवश्य गर्नुस् । अन्यथा ती संवादमा आउने कुराहरू पनि तपाईँलाई ‘निम्छरा’ लाग्न सक्छन् । तपाइसँग बलियो समर्थन सहितको सरकार छ, आफ्नो अनुकूलको संसद् छ । पुरै ५ वर्ष सत्ता चलाउने जनादेश पनि छ । तै पनि संवाद गर्न किन चाहनु हुन्न प्रधानमन्त्री ज्यु ? संवादबाट त कमजोरहरू र नैतिक तथा वैधानिक धरातल नभएकाहरू भाग्ने हो । तपाईँ किन संवादबाट टाढा हुनुभएको प्रधानमन्त्री ज्यु ?

लेखक-नेपाल पत्रकार महासंघका उपाध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: