कांग्रेस सभापति देउवाको टिप्पणी : राष्ट्रपति महारानी, सभामुख डरपोक (भिडियोसहित) « Nagarik Khabar

कांग्रेस सभापति देउवाको टिप्पणी : राष्ट्रपति महारानी, सभामुख डरपोक (भिडियोसहित)



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी बेलायती महारानीको शैलीमा प्रस्तुत भएको आरोप लगाएका छन् ।

बुधबार काठमाडौंमा कांग्रेसको राष्ट्रिय जागरण अभियानको शुभारम्भ कार्यक्रममा सभापति देउवाले राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रममा सम्बोधन गर्ने क्रममा प्रयोग भएको ‘मेरो सरकार’ शब्दावलीप्रति आपत्ति जनाउँदै मुलुकमा कम्युनिष्ट शासन आएकाले राष्ट्रपति महारानी शैलीमा प्रस्तुत भएको दाबी गरे ।

आक्रोसित रुपमा प्रस्तुत भएका देउवाले सभामुख कृष्णबहादुर महरालाई नेपाली संसदीय इतिहासकै कमजोर सभामुख भएको आरोप लगाए । उनले मंगलबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलेको गैरसंसदीय भाषालाई ‘डिलिट’ गर्न आफ्नो पार्टीले पटकपटक आग्रह गर्दा पनि सभामुख महराले डराएर सो काम गर्न नसकेको दावी पनि गरे ।

‘नेपालको संसदीय इतिहासमा यति कमजोर, यति डरपोक र काँतर सभामुख आफूले कहिल्यै देखेको थिइन,’ सभापति देउवाले भने, ‘तर सभामुख महराले प्रधानमन्त्रीले बोलेको सो गैरसंसदीय भाषा हटाउन नसकेर निरिहता प्रकट गरे ।’

सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले गरेको पुरक प्रश्नलाई प्रधानमन्त्री ओलीले ‘निम्छरो’ भनेपछि काँग्रेसले आपत्ति जनाउँदै सभामुख महरालाई सो शब्द संसदको रेकर्डबाट हटाउन माग गरेको थियो ।

सभापति देउवाले प्रधानमन्त्री ओलीलाई जथाभावी नबोल्न पनि चेतावनी दिए सरकारले सबै क्षेत्रमा हस्तक्षेप गरिरहेको उनको दावी छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: