आईपीएल इलिमिनेटर प्रिभ्यू : दिल्ली कि हैदराबाद ? « Nagarik Khabar

आईपीएल इलिमिनेटर प्रिभ्यू : दिल्ली कि हैदराबाद ?



दिल्ली । जारी इन्डियन प्रिमियर लिग (आईपीएल) को इलिमिनेटर खेलमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद भिड्दै छन् । फरक यात्रा तय गर्दै अघि बढेका यी दुई टोलीबीच विशाखापट्नममा हुने यो प्रतिस्पर्धा रोचक हुने अपेक्षा गरिएको छ ।

दिल्ली यो सिजन निक्कै सशक्त रुपमा प्रस्तुत भएको टोली हो, जसले आईपीएलमा अहिलेसम्मकै उत्कृष्ट यात्रा तय गरेको छ । कुनै समय उपाधि जितेको हैदरावाद यो सिजन केही कमजोर देखिएको छ । जसले गर्दा मात्रै १२ अंक जोडेर समूहगत चरणको अन्तिम दिन मात्रै प्लेअफ चरणमा यात्रा तय गर्न सफल रह्यो ।

यस पटक दिल्लीले लामो समयपछि प्लेअफ चरणको प्रतिस्पर्धाको अनुभव लिदै छ । किन भने दिल्ली सात वर्षपछि फेरी प्लेअफ चरणमा फर्किएको हो । दिल्लीले जति बेला आईपीएल खेल्दै थियो त्यस बेला हैदरावाद जन्मिएको पनि थिएन । तर, दिल्लीले प्लेअफ चरणमा फेरी यात्रा तय गर्न लगाएको अवधिमा हैदरावाद उपाधि नै जित्न सफल भयो ।

त्यसको तुलनामा आईपीएल जत्तिकै उमेरको दिल्लीले अहिलेसम्म उपाधि जित्न सकेको छैन । उपाधि भन्दा पनि दिल्लीले फाइनसम्मको यात्रा पनि तय गर्न सकेको छैन ।

यो सिजन दिल्लीले हैदरावादविरुद्व पहिलो पटक प्रतिस्पर्धा गर्दा ठूलो अन्तरले पराजित हुन पुगेको थियो, जसमा प्रशिक्षक रिकी पोन्टिङले पिचलाई दोष दिएका थिए । त्यसपछि हैदरावादसँग अर्काे खेल खेल्दा भने दिल्ली विजयी बनेको थियो । यो सिजन स्मरणीय कुरा के छ भने, दिल्लीले खेलेको सात ‘अवे’ खेलमध्ये पाँच खेलमा जित हात पारेको छ ।

त्यसैले पनि सन् २०१५ मा हैदरावादका लागि घरेलु मैदानको रुपमा प्रयोग गरिएको विशाखापट्नमा दिल्लीले राम्रो प्रदर्शन गर्ने अनुमान गरिएको छ । यद्यपि यो मैदानमा यस पटक आयोजक विजयी होला या नयाँ टोलीले जित हात पार्ला ? यसका लागि खेलको अन्तिम बलसम्म कुर्नुपर्ने छ ।

खेल : दिल्ली क्यापिटल्सविरुद्व सनराइजर्स हैदरावाद
चरण : इलिमिनेटर
स्टेडियम : डक्टर राजशेखर रेड्डी एसीए–भीडीसीए क्रिकेट स्टेडियम, विशाखापट्नम

दिल्ली र हैदरावादबारे केही रोचक तथ्य

हेड टु हेड : दुई टोलीबीच अहिलेसम्म १४ खेल भएका छन् । जसमध्येका नौं खेलमा हैदरावाद विजयी भएको छ ।
दिल्लीले अहिलेसम्म आईपीएलको नकआउट चरणको कुनै पनि खेल जितेको छैन ।
हैदरावादले सन् २०१८ को आईपीएलमा आफ्नो योगफल रक्षा गर्दाको नौंमध्ये पाँच खेलमा जित हात पारेको छ । सन् २०१९ मा सात खेलमा आफ्नो योगफल रक्षा गर्दा मात्रै दुई खेलमा विजयी बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: