प्रचण्डको आह्वान- शान्ति प्रक्रियाको बाँकी काम पूरा गरेर विश्वलाई सन्देश दिऔं (भिडियोसहित) « Nagarik Khabar

प्रचण्डको आह्वान- शान्ति प्रक्रियाको बाँकी काम पूरा गरेर विश्वलाई सन्देश दिऔं (भिडियोसहित)



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सम्बन्धित सबै पक्षलाई सक्दो सहयोग गर्न आह्वान गरेका छन् । उनले बाँकी कामलाई पूरा गर्न सरकारले तीसँग सम्बन्धित ऐन संशोधन गरेर सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको नयाँ गठन प्रक्रिया सुरु गरिसकेको जानकारी दिए ।

मानव अधिकारबादी नेता पद्मरत्न तुलाधरको जीवनीमा आधारित पुस्तक ‘सर्वरत्न’ को बुधबार काठमाडौंमा विमोचन गर्दै अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियाका बाँकी कामलाई पूरा गरेर नेपालले विश्वमै उदाहरणीय ढंगले शान्ति प्रक्रियालाई पूरा गरेको सन्देश दिने अवसर गुमाउन नहुनेमा जोड दिए।

अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी मूल्य र मान्यताको आधारमा शान्ति प्रक्रियाअन्तर्गत सेना समायोजनलगायतका महत्त्वपूर्ण काम सम्पन्न भइसकेको उल्लेख गर्दै बाँकी कामलाई पूर्णता दिन ढिलाई गर्न नहुने उनको भनाइ छ ।

प्रचण्डले आफ्नो नेतृत्वको तत्कालीन माओवादी विद्रोहीलाई शान्ति प्रक्रियामा ल्याउन स्वर्गीय पदमरत्न तुलाधरले पुर्‍याउनु भएको योगदानको पनि स्मरण गरे । अध्यक्ष दाहालले स्वर्गीय तुलाधरले नेपालको भाषा आन्दोलन, पहिचानको आन्दोलन, लोकतान्त्रिक आन्दोलनको क्षेत्रमा पनि नेतृत्वदायी भूमिका निर्वाह गरेको चर्चा प्रसंसा गरे ।

कार्यक्रममा पूर्व .सभामुख दमननाथ ढुंगानाले पनि स्वर्गीय तुलाधरले नेपालको लोकतान्त्रिक आन्दोलन, भाषिक आन्दोलन र पहिचानको आन्दोलनमा दिएको योगदानको स्मरण गरे ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: