कांग्रेस राष्ट्रिय जागरण अभियानमा नेताहरुको एउटै आवाज, आपसी मनमुटाव त्यागौं « Nagarik Khabar

कांग्रेस राष्ट्रिय जागरण अभियानमा नेताहरुको एउटै आवाज, आपसी मनमुटाव त्यागौं



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसलाई जनताको चाहनाअनुसार वैकल्पिक शक्तिका रूपमा उभ्याउन हैसियत बनाउनुपर्ने खाँचो औँल्याएका छन् । राष्ट्रिय जागरण अभियानअन्तर्गत बुधबार जनकपुरधाममा आयोजित सभामा नेता पौडेलले सरकारका काम जनअपेक्षाअनुरुप नभएको भन्दै पार्टीले सशक्त विरोध गर्नुपर्ने बताए ।

केन्द्रीय सदस्य बलबहादुर केसीले सरकारले संविधान, सङ्घीयतालाई कागजको खोस्टोमा परिणत गर्न खोजेको आरोप लगाए । प्रदेशसभा सदस्य रामसरोज यादवले सरकारले स्वतन्त्रतामाथि अङ्कुश लगाउने क्रियाकलाप गरिरहेको आरोप लगाए ।

यस्तै, पोखरामा आयोजित कार्यक्रममा महामन्त्री पूर्णबहादुर खड्काले सुदृढ र एकताबद्ध कांग्रेस राष्ट्रको आवश्यकता भएको बताए । कांग्रेसले बुधबारदेखिदेखि देशैभर सञ्चालन गरेको राष्ट्रिय जागरण अभियानअन्तर्गत पोखरामा उद्घाटन गर्दै उनले आपसी मनमुटाव त्याग्दै केन्द्रदेखि वडा तहसम्म पार्टी एकताबद्ध हुनुपर्ने बताए ।

केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले पार्टीभित्रको आन्तरिक एकता पहिलो आवश्यकता भएको धारणा राखे ।

यसरी नै सुर्खेत पुगेका कोषाध्यक्ष सीतादेवी यादवले गुट–उपगुटमा विभाजित भएर पार्टीलाई कमजोर नबनाउन कार्यकर्तालाई निर्देशन दिइन् । उनले कार्यकर्तालाई एकताबद्ध भएर पार्टीका गतिविधिमा लाग्न आग्रह गरिन् ।

केन्द्रीय सदस्य एवं कर्णाली प्रदेशसभा संसदीय दलका नेता जीवनबहादुर शाहीले आफूहरुको अभियान विपक्षीलाई गाली गर्ने नभई पार्टी सङ्गठनलाई सक्रिय पार्नु रहेको बताए ।

हेटौँडामा केन्द्रीय सदस्य अर्जुननरशिंह केसीले काङ्ग्रेसका नेता र कार्यकर्ताकाबीच पार्टी सुदृढीकरणका लागि अहिले विचारमा पुनःजागरणको आवश्यकता खड्केको बताए । उनले कांग्रेसका कार्यकर्ताकाबीच गुटगत वैमनष्य दुर्व्यवहारलाई त्यागेर सत्य निष्ठाको यथार्थ धरातलमा उभिएर कार्यकताले पार्टीका नेतृत्वलाई यथार्थ कुरा भन्न सक्नु नै कांग्रेसको पहिचान भएको बताए ।

दाङको तुलसीपुर पुगेका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले निर्वाचनमा कांग्रेसले कांग्रेसलाई नै भोट नहालेका कारण पार्टीले हार व्यहोर्नुपरेको दाबी गरे । उनले अब त्यस्तो प्रवृत्तिलाई सच्याएर कांग्रेस तिखारिएर जानुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: