कोरियाली अग्नी पीडितलाई नेपाली समुदायको सहयोग « Nagarik Khabar

कोरियाली अग्नी पीडितलाई नेपाली समुदायको सहयोग



दक्षिण कोरिया । पूर्वराजा वीरेन्द्रको पालासम्म नेपालले दैविक प्रकोप वा विभिन्न खालका विपत्तिमा विदेशी मुलुकलाई समेत सहयोग गरेको खबर सुन्न र पढ्न पाइन्थ्यो ।
त्यसपछिका दिनमा कुनै पनि विदेशी मुलुकलाई त्यस्तो विपत्तिमा सहयोग गर्नुभन्दा नेपालले सहयोग लिने गरेको सहयोग मात्र सुनिएको छ । तर कोरियामा बसोबास गर्ने नेपाली समुदायले पहिलो पटक कोरियाली अग्नी पीडितलाई आर्थिक सहयोग गरेका छन् ।
गत अप्रिल ४ मा कोरियाको खाङ्न्दो शहरमा लागेको आगलागीबाट पीडित बृद्ध र अपाङ्गलाई सहयोगार्थ नेपाली समुदायले आर्थिक सहयोग गरेका हुन् ।
गैरआवसीय नेपाली संघ कोरियाका पूर्वअध्यक्ष राजु क्षेत्रीको पहलमा संकलित ३२ लाख ७७ हजार कोरियन वोन कानुन मन्त्रालयका निर्देशक विएई जंगसंगमार्फत रकम हस्तान्तरण गरिएको हो ।
उक्त रकम कोरियाली अग्नी पीडित बृद्ध तथा अपाङ्गलाई जाने गरी कोरियाली कानुन मन्त्रालयमै एक कार्यक्रमबीच रकम हस्तान्तरण गरिएको आर्थिक संकलनको नेतृत्वकर्ता राजु क्षेत्रीले बताए । उनले भने,‘कोरियाली अग्नी पीडितलाई सहयोग गर्न पाउँदा निकै खुसीको लागेको छ । पहिलो पटक नेपाली समुदायले पनि कोरियाली अग्नी पीडितको दुःखमा मलम लगाउन प्रयास गरेको छ । त्यो सारा नेपालीका लागि खुसी र गौरवको कुरा हो ।’ सहयोग संकलनकर्ता क्षेत्री कोरियामा प्रतिष्ठित ब्यवसायी, अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी तथा प्रशिक्षकका रुपमा चिनिन्छन् ।
उक्त कार्यक्रममा जनसम्पर्क समिति कोरियाका पूर्वअध्यक्ष गंगा थापा श्रेष्ठ, एनसीसी अध्यक्ष अन्जु केसी, एनआरएन कोरियाका संरक्षक ध्यान राई, नेपाल कोरिया भलिबल संघका अध्यक्ष भजेन्द्र क्षेत्री, गुल्मी सम्पर्क समितिका अध्यक्ष गान्दिप सुवेदी, एनसीसीका बरिष्ठ उपाध्यक्ष श्री श्रेष्ठ, समाजसेवी मनोज जुगजाली, विजय कार्कीलगायतको उपस्थिति थियो ।
कोरियाको खाङन्दो शहरमा भएको आगलागी सयौंको हताहत भएको थियो भने केहीको मृत्यु पनि भएको थियो । आगलागीपछि कोरियाली सरकारले संकटकाल नै घोषणा समेत गरेको थियो । आगलागीबाट उत्तर पूर्वी तटीय क्षेत्रका पाँच वटा शहर नराम्रोसँग प्रभावित भएको थियो । १२५ वटा घर तथा अपार्टमेन्ट जलेर नष्ट भएका थिए ।
नेपाली समुदायले गरेको उक्त राहतले केही भए पनि कोरियाली अग्नी पीडित जनतालाई राहत अवश्य मिल्ने छ । त्यसो त, गत ०७२ सालमा नेपालमा आएको विनाशकारी भूकम्पमा नेपाललाई सहयोग गर्ने मुलुकको दोस्रो स्थानमा कोरियाली सरकार थियो । त्यसताका नेपालमा राहत लिएर नेपाल जाने नेता मुञ्जे इन नै अहिले कोरियाली राष्ट्रपति रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: