सन्दीपको टोली दिल्ली क्वालिफायरमा, फाइनल प्रवेशका लागि चेन्नाईसँग खेल्ने « Nagarik Khabar

सन्दीपको टोली दिल्ली क्वालिफायरमा, फाइनल प्रवेशका लागि चेन्नाईसँग खेल्ने



विशाखापट्नम । नेपाली खेलाडी सन्दीप लामिछाने आवद्व रहेको टोली दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) को क्वालिफायरमा प्रवेश गरेको छ । बुधबार भएको रोमाञ्चक इलिमिनेटर खेलमा सनराइजर्स हैदरावादलाई दुई विकेटले पराजित गर्दै दिल्लीले उपाधि होडमा आफूलाई कायमै राखेको छ ।

दिल्लीले अब शुक्रबार हुने क्वालिफायर खेलमा चेन्नाई सुपर किङ्ससँग प्रतिस्पर्धा गर्ने छ । दिल्लीले आईपीएल क्रिकेटको इतिहासमा प्लेअफ चरणको खेल जितेको यो नै पहिलो अवसर हो । आईपीएलको पहिलो संस्करणबाटै सहभागी हुँदै आइरहेको दिल्लीले यस अघि कहिल्यै प्लेअफ चरणको खेलमा जित हात पार्न सकेको थिएन ।

दिल्लीसँगको पराजयसँगै हैदरावाद भने प्रतियोगिताको उपाधि होडबाट बाहिरीएको छ । दिल्ली यो सिजन चेन्नाईपछि आईपीएलको प्लेअफ चरणमा पुग्ने पहिलो टोली थियो भने हैदरावाद अन्तिम टोली थियो ।

बुधबार विशाखापट्नममा टस हारी पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ६२ रनको योगफल तय गरेको थियो । जवाफमा दिल्लीले निर्धारित ओभरको अन्तिम एक बल बाँकी रहँदा आठ विकेट गुमाएर जित हात पारेको हो ।

दिल्लीको जितमा रिशभ पन्तले २१ बलमा ४९ तथा प्रारम्भिक ब्याट्सम्यान पृथ्वी शाहले ३८ बलमा ५६ रनको योगदान दिएका थिए । रिशभले आफ्नो पालीमा पाँच छक्का र दुई चौका तथा पृथ्वीले दुई छक्का र ६ चौका प्रहार गरेका थिए । हैदरावादविरुद्वको खेलमा यी दुई खेलाडीले नै सशक्त प्रदर्शन गरे । टोलीलाई पृथ्वीले उत्कृष्ट सुरुवात दिलाएका थिए भने एकपछि अर्काे गर्दै आफ्ना सहकर्मी आउट हुँदा रिशभले नियमित रुपमा ठूला सट् प्रहार गर्दै टोलीलाई लक्ष्यतर्फ अघि बढाइरहे । त्यसबाहेक शिखर धवनले १७ र कोलिन मुन्रोले १४ रनको योगदान दिए ।

हैदरावादका लागि मार्टिन गुप्टिलले ३६, मनिश पाण्डेले ३०, केन विलियम्सनले २८, विजय शंकरले २५ र मोहम्मद नाबीले २० रन जोडे पनि टोलीको जित सम्भव भएन । अन्य खेलाडी दोहोरो अंकमा रन जोड्नु अघि आउट हुन पुगेका थिए ।

दिल्लीका किमो पउलले हैदरावादको तीन विकेट लिएका थिए । उनै किमोले जितका लागि दुई बलमा दुई रन आवश्यक रहेको अवस्थामा चौका प्रहार गर्दै टोलीको जित निश्चित गरेका थिए । उनी बाहेक इशान्त शर्माले दुई विकेट लिएका थिए । हैदरावादका भुवनेश्वर कुमार, खलिल् अहमेद र राशिद खानले दिल्लीको दुई/दुई विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: