नेकपाको बाँकी एकता र कार्यविभाजन ३ जेठमा घोषणा गर्ने तयारी « Nagarik Khabar

नेकपाको बाँकी एकता र कार्यविभाजन ३ जेठमा घोषणा गर्ने तयारी



काठमाडौं । सत्तारुढ नेकपाका शीर्ष नेताहरूले बाँकी एकता ३ जेठमा घोषणा गर्ने तयारी गरेका छन । प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधबार भएको छलफलमा शीर्ष नेताहरू पार्टी एकताको वार्षिकोत्सव (३ जेठ)मा पोलिटब्युरो गठन, केन्द्रीय सदस्यको कार्यविभाजन र जनसंगठनहरूको एकीकरण गर्ने सहमतिमा पुगेका हुन ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबारको छलफलबाट तीनवटै विषय टुंगिएकाले केही दिनभित्रै घोषणाको तयारी भइरहेको बताए । अध्यक्षद्वय केपी ओली र प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपालबीचको छलफलमा महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा बादल पनि सहभागी थिए ।

प्रधानमन्त्री ओली बिहीबार कम्बोडिया भ्रमणमा जाँदै छन । १ जेठमा उनी फर्किएपछि सचिवालय बैठकबाट अन्तिम टुंगो लगाएर ३ जेठमा घोषणा गर्ने नेताहरूबीच समझदारी बनेको छ । तत्कालीन एमाले र माओवादी एकीकरण भएको ३ जेठमै एक वर्ष पुग्दै छ । सचिवालय बैठकबाट पारित नभइसकेकाले शीर्ष नेता सहमतिबारे खुलेर बोल्न चाहेका छैनन । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकासित भएको छ ।

चार सय ४१ सदस्यीय केन्द्रीय कमिटीको एकतिहाइ रहने गरी एक सय ४७ सदस्यीय पोलिटब्युरो गठन गर्ने नेकपाको तयारी छ । पोलिटब्युरोमा साबिक एमालेबाट ८१ र माओवादीबाट ६६ जना रहने समझदारीअनुसार नेताहरूले सूची बनाएका छन् । एमालेबाट साबिक पोलिटब्युरो सदस्यबाहेक दुईपटक केन्द्रीय सदस्य भइसकेका मध्येबाट वरिष्ठताका आधारमा सूची तयार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: