कांग्रेस नेताको सुझाव : बजेट कर्मकाण्डी कथाजस्तो हुनु हुँदैन « Nagarik Khabar

कांग्रेस नेताको सुझाव : बजेट कर्मकाण्डी कथाजस्तो हुनु हुँदैन



।। कल्याणकुमार गुरुङ, केन्द्रीय सदस्य, नेपाली काँग्रेस 

 नेपालको आगामी आर्थिक बर्ष २०७६/०७७ को बजेट केही समय पछि संसदमा प्रस्तुत हुनेछ । बजेटमा आम मानिसका आशा र अपेक्षा पनि जोडिएको हुन्छ । चालु खर्च र बिकास खर्चका आधारमा आउने बजेटले आगामी आर्थिक बर्षमा राजस्व कति उठाउने भन्ने लक्ष्य पनि राखेको हुन्छ । बचत बजेट र घाटा बजेटको परम्परा बिश्वभरी नै रहेको छ । नेपालको सन्दर्भमा बिगत केही बर्षहरुदेखि नै घाटा बजेटको परम्परा रहँदै आएको छ ।

नेपाल सरकारले प्रस्तुत गर्ने बजेटको पर्खाईमा हरेक बर्ष झै यस बर्ष पनि नेपालीहरु रहेका छन् । कुनै पनि सरकारको लागि उसले बजेट प्रस्तुत गर्न पाउनु सुनौलो अबसर हुन्छ । नेपाल सरकार, प्रधानमन्त्री र अर्थ मन्त्रीको लागि आफु सरकारमा रहेको समायमा बजेट प्रस्तुत गर्नु चुनौति र अबसरले भरिएको हुन्छ । नेपालको सन्दर्भमा कुनै पनि प्रधानमन्त्री र अर्थ मन्त्रीको लोकप्रियता उसले संसदमा प्रस्तुत गर्ने बजेटसँंग प्रत्यक्ष रुपमा जोडिएको हुन्छ । बजेटसँंग सबै मन्त्रीहरुको पनि प्रत्यक्ष सम्बन्ध जोडिएको हुन्छ । लोकप्रिय बजेट ल्याउने कि संतुलित बजेट ल्याउने, यो बिषय मुख्य रुपमा प्रधानमन्त्री र अर्थमन्त्रीमा निर्भर रहन्छ ।
नेपालमा प्रायः घाटा बजेट प्रस्तुत गरिन्छ । देशमा एक आर्थिक बर्षभरी संकलन हुने राजस्वभन्दा सो आर्थिक बर्षमा खर्च बढी हुन्छ भने त्यसलाई घाटा बजेट भनिन्छ । कहाँबाट गरिन्छ त घाटा बजेटको पुर्ति ? आन्तरिक ऋण, बाह्य ऋण, बैदेशिक ऋण, अनुदान तथा सहयोग तथा सरकारी बोण्डको बिक्रीबाट आएको रकमले सो बजेटमा भएको घाटाको पुर्ति गर्ने गरिन्छ ।

नेपालमा देशभरी संकलन हुने राजस्वले देशको चालु खर्च पनि धान्न सक्दैन । साधारणतया कर्मचारीलाई दिने तलब, भत्ता र पेन्सन खर्च तथा बैदेशिक ऋणको तिर्नुपर्ने किस्ता र ऋणको ब्याजको रकमको साथै अन्य तलब र भत्ता खर्चलाई बजेटको भाषामा चालु खर्च भनिन्छ ।

चालु खर्च पनि धान्न नपुग्ने देशको राजस्वको आधारमा मात्र बिकासको परिकल्पना कसरी गर्न सकिन्छ र ? यसैले नेपालले पुँजीगत खर्चको लागि आन्तरिक ऋण र बैदेशिक ऋण तथा अनुदानको सहयोग लिनुपर्ने आबश्यकता हुन्छ । यो नेपालको लागि बाध्यात्मक परिस्थिति हो । यसलाई कुनै पनि राजनैतिक ‘वाद’ ले तत्कालको लागि रोक्न सक्दैन ।

नेपाल एक गरिब देश हो र यसको २१ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको छ । बेरोजगार दर ३.५ प्रतिशत रहेको छ । सन् २०१८ मा देशको कुल ग्राहस्थ उत्पादनको लगभग २८ प्रतिशत हिस्सा रेमिट्यान्सले धानेको थियो । रेमिट्यान्स यस आर्थिक बर्षको पहिलो सात महिनासम्मको रिपोर्ट अनुसार अघिल्लो बर्षको तुलनामा २८.५ प्रतिशतले बढेर ५ खर्ब १५ अर्ब ५५ करोड पुगेको छ ।

लगभग ४० लाखभन्दा धेरै नेपालीहरु बिदेशमा बसेका छन् । बिदेशमा बस्ने नेपालीहरुको मेहनत रेमिट्यान्सको रुपमा देशमा आउदा ओठमा हाँसो हुन्छ भने लासको रुपमा देशमा ल्याईदा आँखा र मनभरी आँशु हुन्छ । पसिना, हाँसो र आँशुको संगम हो रेमिट्यान्स । नेपालको कठोर बिडम्बना यो छकि रेमिट्यान्सको पनि सही सदुपयोग हुन सकिरहेको छैन । यस्तो बेथिति देख्नेको पनि पीडाले छाति भारी हुन्छ, सहनेको हालत कति धेरै दयनीय होला ।

बिश्व बैंकको रिपोर्टअनुसार सन् २०१८ मा नेपाल बिश्वको १९औं ठूलो रेमिट्यान्स भित्राउने मुलुक हो । नेपालमा भित्रिने ८.१ अमेरिकी डलर बराबरको रेमिट्यान्सले देशको कुल ग्राहस्थ उत्पादनमा २८ प्रतिशतको भूमिका निर्वाह गरेको छ । दक्षिण एशियामा सबैभन्दा बढी नेपालको कुल ग्राहस्थ उत्पादनमा रेमिट्यान्सको भूमिका २८ प्रतिशत रहेको तथ्याङ्कले देखाएको छ । यो आँकडा दक्षिण एसियामा सबैभन्दा बढी हो । यसैगरी श्रीलंङ्कामा ८.१ प्रतिशत, पाकिस्तानमा ६.८ प्रतिशत, बंगलादेशमा ५.४ प्रतिशत, भारतमा २.९ प्रतिशत, भुटानमा १.८ प्रतिशत र मालदिप्समा ०.१ प्रतिशत कुल ग्रहस्थ उत्पादनमा रेमिट्यान्सको भूमिका रहेको छ ।

दक्षिण एशियामा सबैभन्दा बढी भारतले ७८.६ अरब अमेरिकी डलर, पाकिस्तानले २१.० अरब अमेरिकी डलर, बंगलादेशले १५.५ अरब अमेरिकी डलर, नेपालले ८.१ अरब अमेरिकी डलर, श्रीलंका ७.१ अरब अमेरिकी डलर बराबरको रेमिट्यान्स सन् २०१८ मा भित्राएको बिश्व बैंकको प्रतिबेदनमा उल्लेख छ ।

राष्ट्र बैंकको प्रतिबेदनअनुसार आर्थिक बर्ष २०७५÷०७६ मा नेपालको ब्यापार घाटा २७.१ प्रतिशतले बढेर ७ खर्ब ८० अर्ब १९ कुरोड पुगेको छ । यसैगरी यो आर्थिक बर्षको सात महिनामा प्रत्यक्ष बैदेशिक लगानी १४ खर्ब ३४ अरब नेपाली रुपैयाँबाट घटेर ५ खर्ब १५ अरब नेपाली रुपैया पुगेको छ ।

एशियाली बिकास बैंकको रिपोर्टअनुसार नेपालको कुल ग्राहस्थ उत्पादन बृद्धिदर सन् २०१६ मा ०.६ प्रतिशत थियो । तर यो बढेर सन् २०१७ मा७.९ प्रतिशतमा पुग्यो । अहिले फेरी यो घटेर ६.३ प्रतिशतमा पुगेको छ । यसको बृद्धिदर सन् २०१९ मा ६.२ प्रतिशत र सन् २०२० मा ६.३ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

एशियाली बिकास बैंकको प्रतिबेदनअनुुसार आगामी तीन बर्ष भित्र दक्षिण एशियामा कुल ग्राहस्थ उत्पादन बृद्धिदर सन् २०१८ मा बंगलादेशमा ७.९ प्रतिशत, मालदिप्समा ७.६ प्रतिशत, भारतमा ७.० प्रतिशत, नेपालमा ६.३ प्रतिशत, भुटानमा ५.५ प्रतिशत, पाकिस्तानमा ५.२ प्रतिशत, श्रीलंकामा ३.२ प्रतिशत र अफगानिस्तानमा २.२ प्रतिशत रहने छ ।

सन् २०१९ मा बंगलादेशमा ८.० प्रतिशत, मालदिप्समा ६.५ प्रतिशत, भारतमा ७.२ प्रतिशत, नेपालमा ६.२ प्रतिशत, भुटानमा ५.७ प्रतिशत, पाकिस्तानमा ३.९ प्रतिशत, श्रीलंकामा ३.७ प्रतिशत र अफगानिस्तानमा २.५ प्रतिशत कुल ग्राहस्थ उत्पादन बृद्धिदर हुने अनुमान गरिएको छ ।

सन् २०२० मा बंगलादेशमा ८.० प्रतिशत, मालदिप्समा ६.३ प्रतिशत, भारतमा ७.३ प्रतिशत, नेपालमा ६.३ प्रतिशत, भुटानमा ६.० प्रतिशत, पाकिस्तानमा ३.६ प्रतिशत, श्रीलंकामा ३.८ प्रतिशत र अफगानिस्तानमा ३.० प्रतिशत कुल ग्राहस्थ उत्पादन बृद्धिदर हुने अनुमान गरिएको छ ।

यो प्रतिबेदनले नेपालको सन् २०१८, २०१९ र २०१० को कुल ग्राहस्थ उत्पादन बृद्धिदर क्रमशः ६.३ प्रतिशत, ६.२ प्रतिशत र ६.३ प्रतिशत देखाइएको छ । यो सकारात्मकर स्थिर आर्थिक सुचक हो । नेपालको मात्र होइन, नेपालको छिमेकी देशहरु भारत, चीन र बंगलादेशको पनि आर्थिक बृद्धिदरको सुचक सकारात्मक छ । छिमेकी देशहरुको सकारात्मक आर्थिक बृद्धिको कारणले र नेपालको स्थिर आर्थिक बृद्धि दरको स्थितिले नेपालको आर्थिक गतिबिधिहरु बढाउन सहयोग पुग्ने देखिन्छ ।

आर्थिक सुचकहरु र भविष्यको अनुमानहरु मात्र सकारात्मक भएर हुँदैन, आर्थिक बिकासको लागि रेमिट्यान्समा आधारित अर्थतन्त्रभन्दा उत्पादनमा आधारित अर्थतन्त्रको बिकास गर्ने आर्थिक र मौद्रिक नीतिहरु र तिनको कार्यान्वयन हुनु अतिआबश्यक हुन्छ । अहिलेको सकारात्मक आर्थिक सुचकहरुले नेपालमा दहृो अठोटका साथ काम गर्ने हो भने आर्थिक बिकास बिपनामा नै संभव हुन सक्दछ ।

नेपालको जनसंख्या बृद्धिदर १.३५ प्रतिशत छ र यसको मध्यम उमेर २१.६ बर्ष रहेको तथ्याङ्कले देखाउँदछ ।अर्थात् अहिले नेपालमा काम गर्ने उमेर समुहको जनसंख्या धेरै छ । अझै ३० बर्षसम्म नेपालमा काम गर्ने उमेर समुहका मानिसहरुको जनसंख्या बढी रहनेछ । यो तथ्याङ्कले नेपाललाई समृद्ध बनाउन आबश्यक आधारभुत तत्वहरु भरिपूर्ण मात्रामा रहेको छ । आबश्यक छ, असल सरकारको, सुशासनको, बिधिको शासनको, जन सहभागिताको र समाबेशी बिकासको सपना र संकल्पको ।

आर्थिक सुचकहरु सकारात्मक, जनसांख्यकीय सुचक पनि अझै बढी सकारात्मक र राजनैतिक रुपले पनि स्थिर सरकार दिन सकिने गणितिय संख्या संसदमा भएको समयमा प्रस्तुत हुने बजेटले मुलुक समृद्ध हुन सक्दछ भन्ने बिश्वास आममानिसमा जगाउन सक्ने स्पष्ट संदेश दिन सक्नु पर्दछ । नेपाल सरकारले धेरै लोकप्रिय कार्यक्रमहरु भन्दा पनि देशको बहुआयामिक बिकास अर्थात् प्रगति गर्ने दृढ लक्ष्य राखेर तथा आर्थिक अनुशासन कायम हुने गरी बजेट निर्माण गर्नु आबश्यक हुन्छ ।

बहुलवादमा आधारित बहुदलीय लोकतान्त्रिक प्रणालीमा सबै राष्ट्रिय राजनीतिक बिषयहरुमा सत्तापक्षले प्रमुख प्रतिपक्षसँंग सरसल्लाह गर्ने परम्परा हुन्छ । अझ फराकिलो हृदय भएको सत्तापक्षले संसदमा उपस्थिति भएको सबै राजनीतिक दलहरुसँग संवाद गर्ने गर्दछ ।

बजेट राष्ट्रिय महत्वको बिषय हो । बजेटको बिषयमा सत्तापक्षले प्रमुख बिपक्षीदलसँग गंभीर संबाद गर्नु आबश्यक हुन्छ । यसैगरी यस बिषयमा संसदमा रहेको सबै दलहरुसँग बजेटको बिषयमा संवाद गरी सबैको राय, सल्लाह र सुझाबलाई बजेटमा सकेसम्म समेटनु पर्दछ ।

बजेट आफैमा रकमहरुको गणितीय जोड भएपनि योसँग राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसदहरु, नेताहरुदेखि आम सर्बसाधारणसम्मको सपना पनि जोडिएको हुन्छ । यसैले बजेटलाई कुनै ब्यक्तिको सपना पुरा गर्ने वा कुनै पार्टीको घोषणापत्र कार्यान्वयन गर्ने वा बिपक्षी दललाई उपेक्षा र अबहेलना गर्ने साधन कसैले पनि बनाउनु हुँदैन । बजेटलार्ई सबैको सपना जोडिएको र भावनात्मक रुपले सबैको आबश्यकता प्रतिबिम्बित हुनसक्ने बनाउनु पर्दछ । बजेट केवल कर्मकाण्डी कथाजस्तो हुनु हुँदैन ।

बजेट आममानिसको सपनालाई यथार्थका परिणत गर्ने बैधानिक साधन हो । यसले संबैधानिक, कानुनी र राजनीतिक बैधताप्राप्त गरेको हुन्छ । भारतकापुर्व राष्ट्रपति ए. पि. जे. अब्दुलकलामले भनेका छन् – “सपना त्यो होइन, जुन हामी निदाएको बेला देख्छौं । सपना त्यो हो जसले हामीलाई निदाउन दिँदैंन ।” यसर्थ, सपनालाई यथार्थमा परिणत गर्न कठोर संकल्प चाहिन्छ ।
(यो लेखकको नीजिबिचार हो ।)

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: