लिभरपुलकै शैलीमा टोट्टनहामको ‘कम्ब्याक’, टुङ्गियो अयाक्सको यात्रा « Nagarik Khabar

लिभरपुलकै शैलीमा टोट्टनहामको ‘कम्ब्याक’, टुङ्गियो अयाक्सको यात्रा



आम्सटर्डम । एक दिनअघि छिमेकी क्लब लिभरपुलले तय गरेको ऐतिहासिक कम्ब्याकको बाटो पछ्याउँदै टोट्टनहाम हर्ट स्परले युरोपियन च्याम्पियन्स लिगको फाइनल यात्रा तय गरेको छ । यसका लागि टोट्टनहामले डच टोली अयाक्सले यो सिजन तय गरेको चमात्कारीक यात्राको अन्त्य गरेको छ ।

गत साता आफ्नै मैदानमा भएको पहिलो लेगको खेलमा १–० ले पराजय बेहोरेको टोट्टनहाम बुधबार अयाक्सको मैदानमा भएको दोस्रो लेगको खेलको पहिलो हाफमै २–० गोलले पछि परिसकेको थियो । असम्भव प्रायः देखिएको अवस्थामा पुगेको बेला टोट्टनहामले दोस्रो हाफमा तीन गोल ग¥यो र समग्रमा ३–३ को बराबरीसँगै अवे गोलको आधारमा फाइनल यात्रा तय ग¥यो । टोट्टनहामको जितमा लुकास मउराले ह्याट्रिक पुरा गरे ।

टोट्टनहाम युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता युरोपियन च्याम्पियन्स लिगको फाइनलमा पुगेको यो नै पहिलो अवसर हो । बुधबारको नतिजापछि यो सिजनच्याम्पियन्स लिगको उपाधिका लागि दुई इङ्लिस क्लब लिभरपुल र टोट्टनहाम भिड्ने भएका छन् । फाइनल खेल आगामी जुन एक तारिक स्पेनको म्याड्रिडमा हुने छ ।

लिभरपुलले स्पेनी क्लब बार्सिलोनाविरुद्व पहिलो लेगको खेलमा तीन गोलले पछि परेको अवस्थाबाट फर्किएर मंगलबार दोस्रो लेगको खेलमा चार गोल गर्दै फाइनलको यात्रा तय गरेको हो । टोट्टनहामका खेलाडीहरूले लिभरपुलको यही खेलबाट प्रेरणा लिएको बताए ।

‘गए राती लिभरपुलको कम्ब्याक देख्यौ’, टोट्टनहामका मुख्य रक्षक डान्नी रोजले भने, ‘लिभरपुलकै खेल हेरेपछि हामीलाई खेल अझै सकिएको छैन भन्ने महसुस् भएको थियो ।’ यस अघि प्रिक्वार्टरफाइनलमा साविक विजेता स्पेनी टोली रियल म्याड्रिड र क्वार्टरफाइनलमा क्रिष्टियानो रोनाल्डोको युभेन्टसलाई पराजित गर्दै अघि बढेको अयाक्सको सन् १९९६ पछि पहिलो पटक फाइनलमा पुग्ने प्रयास यसै खेलबाट समाप्त भएको छ ।

मउराको ह्याट्रिक
पहिलो लेगको खेलमै १–० को जित हात पारेको अवस्थामा दोस्रो लेगको खेलमा पनि पहिलो हाफमै २–० को अग्रता बनाएपछि अयाक्स युरोपियन च्याम्पियन्स लिगको फाइनल नजिक देखिएको थियो । तर, टोट्टनहाम र मउराको खेल त्यसपछि सुरु भयो । लगभक मउरा एक्लैले टोट्टनहामलाई च्याम्पियन्स लिगको फाइनलमा पु¥याए ।खेलमा घरेलु टोली अयाक्सले सुरुवातबाटै अग्रता लिएको थियो ।

कर्नरबाट आएको बललाई टाउकोमार्फत गोल गर्दै १९ वर्षिय कप्तान डी लिग्टले अयाक्सलाई १–० ले अघि राखेका थिए । खेलको ३५औं मिनेटमा हाकिम जिऐचले सशक्त प्रहारमार्फत गोल गर्दा अयाक्स खेलको पहिलो हाफमा २–० ले अघि रहेको थियो ।

दोस्रो हाफको खेलमा टोट्टनहाम निक्कै सशक्त भएर फर्कियो । मउराले खेलको ५५औं मिनेटबाट गोल फर्काउन सुरु गरेका थिए । डेली अलीले दिएको छोटो पासमा गोल गर्दै मउराले टोट्टनहामको पहिलो गोल फर्काएका थिए । त्यसको चार मिनेटपछि नै अयाक्सका खेलाडीले क्लियर गर्न नसकेको बललाई नियन्त्रणमा लिदै मउराले दोस्रो गोल गरे ।


त्यसपछि खेलको इन्जुरी समयमा अलीले मिलाइदिएको बलमा गोल गर्दै मउराले ह्याट्रिक पुरा गर्दा यो सिजन युरोपियन च्याम्पियन्स लिगमा टोट्टनहामले अर्काे चमात्कारीक कमब्याक सम्भव बनाएको थियो । टोलीलाई यो महत्वपूर्ण जित दिलाउन महत्वपूर्ण योगदान गरेका मउरा प्रतिकृया विहीन बने ।

‘यो अवस्थामा मैले कस्तो अनुभव गरिरहेको छु भनेर ब्यक्त गर्न असम्भव छ’, खेलपछि मउराले भने, ‘हामीले सधै यो सम्भव छ भनेर विश्वास ग¥यौं । त्यसैले मैदानमा हामीले आफूसँग भएको सबै दिएर मेहनत ग¥यौं । मलाई हामी यो क्षणका लागि लायक छौं जस्तो लागेको छ ।’

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: