विवाह अघि र पछि धेरै फरक हुँदो रहेछ: प्रचण्ड (प्रचण्ड-सीताका पुराना फोटोसहित) « Nagarik Khabar

विवाह अघि र पछि धेरै फरक हुँदो रहेछ: प्रचण्ड (प्रचण्ड-सीताका पुराना फोटोसहित)



काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहााल प्रचण्डले आज बिहिवार विवाहको ५०औं वर्षगाँठ मनाउँदैंछन् । बिरामी पत्नी सीताको चाहना अनुसार उनले निवास खुमलटारमा औपचारिक कार्यक्रम आयोजना गरेका छन् । कार्यक्रम बेलुकी पाँच बजे शुरु हुनेछ । हिन्दु संस्कार अनुसार ५०औं वर्षगाँठको कार्यक्रम गर्ने तयारी गरिएको छ । विवाहको ५०औं वर्षगाठको अवसरमा आयोजित कार्यक्रममा आफन्त, परिवार र केही नेकपाका नेतालाई बोलाइएको छ ।

प्रचण्ड पत्नी सीता, छोरा प्रकाशको निधनपछि  बिरामी छन् । उनको स्वास्थ्य अझै सुधार हुन सकेको छैन् । जेठी छोरी ज्ञानुको निधन भएको केही वर्षमै एकमात्र छोरा प्रकाशको निधन भएपछि सीता बिरामी परिन् । उनको अहिले पनि उपचार चलिरहेको छ । बिरामी पत्नीको चाहना अनुसार प्रचण्डले औपचारिक कार्यक्रम गर्न लागेको पारिवारीक स्रोतले जनाएको छ ।

सीताका मामालाई मन पर्यो प्रचण्ड परिवार
प्रचण्डको जन्म विक्रम संवत २०११ साल मंसीर २६ गते कास्कीको ढिकुरपोखरीमा भएको हो । तर नागरिकतामा भने २०१२ साल उल्लेख छ । मध्यम वर्गिय उनको परिवार २०१९ सालमा चितवन झ्र्यो । चितवन झरेको केहीवर्षपछि प्रचण्डको विवाह गर्ने कुरा चल्न थाल्यो । प्रचण्ड र सीताको परिवारबीच टाढैको भएपनि नाता सम्बन्ध थियो । सीताको परिवार पनि कास्कीको हेम्जाबाट एउटै वर्ष २०१९ सालमै चितवन झरेको थियो । चितवन झरेपनि प्रचण्डको घर र सीताको घरको दुरी आधा घन्टा थियो । विवाहअघि दुई जनाबीच चिनजान थिएन । 


प्रचण्ड स्कुले जीवनमा निक्कै लाज मान्ने गर्थे । उनलाई परिवारले विवाहका लागि दबाब दिन थाल्यो । त्यही क्रममा सीता पौडेलका मामाले जोड गरेर भाञ्जी सीतासंग विवाह गर्ने प्रस्ताव प्रचण्डको वुवा मुक्तिरामसंग राखे । हाइस्कुल पढ्दै गर्दा प्रचण्डले सीता पौडेलसंग २०२६ साल वैशाख २६ गते विवाह गरेका हुन् । विवाह गर्दा प्रचण्डको उमेर १५ वर्ष मात्र थियो ।
दुवै जना लजालु स्वभावका भएकाले लामो समयसम्म राम्रोसंग बोलचाल नभएको प्रचण्ड सम्झिन्छन् । उनी भन्छन् ‘विवाहको केही समयसम्म त, म र उनीबीच बोलचाल समेत भएन् । पछि त बिस्तारै नजिक हुँदै गयौं । शुरुमा त साथीभाई जस्तो भयो हाम्रो सम्बन्ध ।’ 

विवाह हुनुपूर्व र विवाहपछि फरक हुने अनुभूति प्रचण्डसंग छ । उनले विवाहपछिको अवस्था सम्झदैं भने ‘तराई झरेपछि पनि संस्कृति त संगै जानेनै भयो । जहाँ गएपनि आफ्नो संस्कृति अनुसार चल्नुनै पर्ने । तर विवाह हुनुभन्दा पहिले र विवाह पछि अल्लि फरक अनुभूत गरे । विवाह हुनुभन्दा पहिले अल्लि खुल्ला हुन्थ्यो, जहाँ गएपनि हुने, जसो गरेपनि हुने, अल्लि स्वतन्त्र जस्तो । तर विवाह पछि ससुरालीमा जानुपर्ने,अन्त जानुपर्ने अल्लि औपचारिक जस्तो हुन्थ्यो । अल्लि बढी बन्धनको महसुस हुन्थ्यो ।’

विक्रम संवत २०२८ सालमा नेकपाको पुष्पलाल समूहबाट पार्टी सदस्यता लिएपछि यो जोडीको जीवन संघर्षपूर्ण रह्यो । प्रचण्ड ०३५ सालमा पूर्णकालिन कार्यकर्ता भएर पार्टीमा होमिए । घरधन्दा भने पत्नी सीताको जिम्मामा आइपुग्यो । प्रचण्डका हरेक संघर्षका क्रममा व्यवस्थापकीय जिम्मेवारी पत्नी सीताको हुथ्यो । प्रचण्डले राजनीतिक जिम्मेवारी लिन थालेपछि पत्नी सीता घरधन्दासंगै राजनीतिमै होमिईन ।

०५१ सालमा पार्टीको महामन्त्री बनेका प्रचण्डसंगै पत्नी सीता दोस्रो जनआन्दोलनसम्म भूमिगत भईन । भूमिगत कालमा पनि पत्नी सीताले तीन छोरी र एक छोराको हेरचाहसंगै राजनीतिक मामिलामा प्रचण्डलाई साथ दिएकी थिईन । प्रचण्ड र सीताको जोडीले बाबुराम हिसीला, बादल नैनकलाको जोडीसंग मिलेर राजनीतिक आरोह अवरोधमा महत्वपूर्ण योगदान दिएको छ । एकरथका दुई पाङ्ग्रा भनेझै प्रचण्डलाई अहिलेको अवस्थासम्म ल्याई पुर्याउन पत्नी सीताको पनि उत्तिकै योगदान छ ।

 

 

सन्दर्भ स्रोत-समाचार पाक्षिक

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: