वनमा लागेको आगो गाउँसम्म फैलिदा २० घरगोठ जलेर नष्ट « Nagarik Khabar

वनमा लागेको आगो गाउँसम्म फैलिदा २० घरगोठ जलेर नष्ट



दाङ । सल्लीकोट सामुदायिक वनमा लागेको आगो निभाउन नसक्दा घोराही उपमहानगरपालिका १ को दुई गाउँमा आगोले २० घरगोठ जलेर नष्ट भएका छन्। जिल्ला प्रहरी कार्यालयका डिएसपी विनोद विक्रम शाहका अनुसार वडा नम्बर १ को तल्लो माले र सिरुखर्क सल्लीकोट गाउँमा जंगलबाट आएको आगोले २० घरगोठ जल्दा ५० लाखभन्दा बढीको क्षति भएको हो ।

वन क्षेत्रबाट आएको आगो गाउँमा पस्दा मानवीय क्षति नभए पनि घर गोठ पूर्ण रुपमा जलेर नष्ट भएका छन् । डिएसपी शाहका अनुसार तल्लो मालेका चुमानसिंह बिष्टको घरगोठ जल्दा करिब ६ लाख रुपैयाँको क्षति भएको छ।

त्यसैगरी सोही ठाउँकै गोमबहादुर घर्तीको २ वटा घरमा आगलागी हुँदा ११ लाख ५० हजार रुपैयाँको क्षति भएको छ। स्थानीय टुकलाल घर्तीको टिनले छाएको एउटा घर जल्दा ७ लाख र श्यामलाल बिष्टको दुई वटा घर तथा एउटा गोठ जल्दा करिब ७ लाख बराबरको क्षति भएको पनि जिल्ला प्रहरी कार्यालय दाङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच सोही वडाकै सिरुखर्कमा बेलुकी जंगलमा लागेको आगो गाउँमा पस्दा एउटै परिवारका १० घर गोठ जलेर खरानी भएको छ । माले वन क्षेत्रबाट आएको आगो गाउँमा पसेको थियो । प्रहरीका अनुसा प्रेमबहादुर थापा, हिमलाल थापा, शिवलाल थापा, मेघराज थापा र देवीराम थापाको १० घरगोठ जलेको छ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: