प्रचण्ड-सीताको ५०औं वैवाहिक वर्षगाँठ : सीताबिना छविलाल ‘प्रचण्ड’ बन्ने थिएनन् « Nagarik Khabar

प्रचण्ड-सीताको ५०औं वैवाहिक वर्षगाँठ : सीताबिना छविलाल ‘प्रचण्ड’ बन्ने थिएनन्



।। दीपेश पुन

दुःख गरेर परिवार पाल्नका लागि मदन भोट गए । तर फर्केर आउँदा मुनालाई देख्न पाएनन्। मदनसँगको विछोड सहन नसकेर मुना दिनदिनै कमजोर बन्दै गइन। र, अन्ततः उनले भौतिक शरीर त्याग गरिन्।

विश्वमा यस्ता धेरै उदाहरण छन् मायाप्रितीका । नेपालको लोक सन्दर्भमा मुनामदनको चर्चा लामो समयसम्म भइरहेछ। छायाँ प्रतित भइरहनेछ। श्रीमतीको माया कति लाग्छ, कसरी गरिन्छ ? श्रीमान हुनुको वास्तविक भूमिका के हो ? त्यो, मुना मदन जस्तै अर्को लेकप्रिय किताबमा कुनै दिन त लेखिएला । अपेक्षा छ। र, त्यो किताब अरु कसैको नभएर प्रचण्डको होला ।

कास्कीको ढिकुरपोखरीबाट संगीन संकल्प बेकेर मध्यरातमा झोलामा केही चिउरा, मकै बोकेर निस्केका प्रचण्डको यात्रा अझै अविराम छ। फलामको चिउरा, फलामको मकै र फलामको चाउचाउ चपाएभन्दा कठिन त्यो यात्रा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रको चौतारीमा शितल तापिरहेछ। तर यात्राको अन्तिम गन्तब्य भने पुग्न बाँकी नै छ। अझै उनका पाईला योभन्दा उदात्त संसार निर्माणका लागि अघि बढेकै छन् ।

खुसीको कुरा, अचम्मको र संयोगजन्य कुरा त यो छ कि, मुना समानकी सिता दाहाल पनि उनको यात्रामा संँगै छन् । सायद त्यतिखेर मुना पनि मदनसँगै भोट गएको भए मुनामदनको कारुणिक पक्षले अर्कै रुप लिन्थ्यो कि ? तर यहाँ यस्तो भयो प्रचण्ड जहाँ-जहाँ पुग्छन्, सिता दाहाल पनि त्यहाँ-त्यहाँ पुगिन्। घरमा रुँदै छाती पिटीपिटी भक्कानिएर बसिनन् । प्रचण्ड रुँदा सिता पनि रोईन्, हाँस्दा हाँसिन्। जहाँ-जहाँ प्रचण्ड त्यहाँ-त्यहाँ सिता दाहाल हुनुको अर्थ सामान्य छ । सँगै बाँच्ने, सँगै मर्ने ।

अहिले मात्र केही सत्ता र शक्ति देखेर प्रचण्डको नजिक परेको वा प्रचण्डले देखाएको बाटोमा म हिँडेको हैन । त्यो संकटकालमा, त्यो आकाशबाट असिना हैन, बम प्रहार हुने समयमा रोल्पाका गोप्य कोठाका ओछ्यानहरुमा मैले प्रचण्ड र सिता दाहालको निम्ती खाना पुर्याएको छु। सबैभन्दा यो जोडीलाई मैले बालुवाटार, लाजिम्पाट र खुमलटारमा हैन रोल्पा रुकुमका बंकरहरुमा देखेको हुँ, त्यसैले यत्ती कुरा सुझबुझका साथ स्मरण गरेर लेख्ने हक म जस्तै योद्धाहरुलाई छ जस्तो लाग्छ।

दुःखमा पनि सुखमा पनि सिता दाहाल आत्तिएको देखेको छैन। आजको मितिसम्म त्यो कायम छ । तर पछिल्लो समय स्वास्थ्य स्थिति कमजोर बन्दै गएपछि केही अफ्ठ्यारो परिस्थितिको सामना गर्नुपरेको छ। खासगरी प्रकाश दाहाल दाईको आकस्मिक निधन पश्चात झन् समस्या बढिरहेको छ। त्यो हामी सबैलाई थाहा भएकै कुरा हो ।

प्रचण्डले सिता दाहालका लागि संभव भएसम्मका उपचारहरु गराइरहेका छन् । मानसिक रुपमा, शारिरिक रुपमा बलियो खम्बा भएर उभिएका छन् । त्यही क्रममा सीतासंग विहे भएको ५० बर्ष पुगेको अवसरमा बिहेको वर्षगाँठ मनाउने औपचारिक कार्यक्रम परिवारले आयोजना गरेको छ । ‬सिताको दीर्घायुको कामना, सितालाई ढाडस दिनका लागि यो एकदमै बलियो कदम हुनसक्छ।

भनिन्छ, चिकित्सा विज्ञानले गर्न नसकेको काम कहिलेकाँही मायाको विज्ञानले गर्छ, मनको विज्ञानले गर्छ, भावनाको विज्ञानले गर्छ। पत्नि सिता दाहाललाई सबै हिसाबले बलियो बनाउन प्रचण्ड लागिरहेका छन् । प्रचण्डको मायाको विज्ञान बुझ्न नसक्नेहरुका लागि यो हाँसो मजाकको बिषय बन्ला, तर चिज त्यो हैन।

यो सबै मैले प्रचण्डको समीक्षा गरेको हैन । आजको दिनमा म अलिकति भावुक छु। भावुक हुनुका धेरै कारण छन्। जीवन मरणको वर्ग संघर्ष होस् या पार्टीभित्रका भिषण अन्तरसंघर्ष होस् प्रचण्ड परिवारसंगै यो वा त्यो रुपमा नजिक रहेर काम गरेको हाम्रो पनि परिवार थियो । म सानै थिएँ त्यो बेला, तर सौभाग्य प्राप्त भयो कि प्रचण्ड र सिता दाहाललाई धेरै पटक नजिकबाटै सहयोग गर्ने र देख्ने र बुझ्ने अवसर मिल्यो। मलाई लाग्छ प्रचण्डको सबैभन्दा ठूलो सल्लाहकार सिता दाहाल हुन्, सबैभन्दा ठूलो वैचारिक मानिस पनि सिता दाहाल नै हुन्। बन्द कोठामा त्यो दृश्य मैले धेरै पटक देखेको छु। दुःख पाएँ, म मर्ने भएँ, छोराछोरीको श्राप लाग्ने भयो भन्दै सिता दाहालले प्रचण्डसंग दुश्मनी गरेको भए प्रचण्ड, प्रचण्ड हुने थिएनन् ।

गौतम बुद्ध पनि जंगल गएका थिए तर एक्लै। भनिन्छ बुद्ध संसारिक दुनियाँ संग दिक्क मानेर दरबारको सुखसयल छाडेर जंगलतिर हिँडेका थिए।
हो प्रचण्ड पनि जंगल नै गएका थिए तर एक्लै हैन। बिरक्तिएर पनि हैन। प्रचण्ड देशको र जनताको लागि आफ्नो वर्गको लागि सिगो परिवार सहित जंगल र जनता कहाँ गएका थिए। प्रचण्डको महत्वपूर्ण हिस्सा जनता र जंगलमै बित्यो भन्नुको अर्थ जनतासंगै बित्यो।देशको राजनीतिक परिवर्तनको खाका पनि जंगलमै बन्यो । त्यसैले प्रचण्ड र जंगल एकअर्काका परिपुरक हुन् । प्रचण्ड र परिवर्तन पनि एक अर्काका परिपुरक हुन्। केही शर्तहरु छाड्ने हो भने बुद्ध र प्रचण्ड एकअर्काका परिपुरक हुन्।

छविलाल दाहाललाई प्रचण्ड बनाएको नेपाली जनताले नै हो । तर सिता दाहालले पनि हो । यो देशका राजनितीक, सामाजिक परिवर्तनको मूख्य योजनाकार, निर्णय क्षमताको किगं मेकर, दुई पटक प्रधानमन्त्रीदेखि सबैभन्दा ठूलो पार्टीको अघ्यक्ष, अन्तर्राष्ट्रिय शक्तिले पत्याएको, स्वीकार गरेको सर्वमान्य नेता प्रचण्डको लागि आजको दिन निकै विशेष छ । यो विशेष दिनमा अध्यक्ष कमरेड प्रचण्ड, सिता दाहाल आमा लगायत सम्पूर्ण परिवारलाई हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्न चाहान्छु।

-पुन, अखिल क्रान्तिकारीका उपाध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: