हेटौँडा । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले न्यायमूर्तिहरुले निष्पक्ष रुपमा अन्यायमा परेकालाई न्याय दिनुपर्ने बताएका छन् ।
प्रदेश नम्बर ३ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा कानुन दिवस २०७५ का अवसरमा बिहीबार हेटौँडामा गरिएको कार्यक्रमको उद्घाटन गर्दै उनले न्यायाधीश कुनै बेलामा निर्मम बनेर भए पनि न्याय दिनुपर्ने बताए । अन्यायमा परेकालाई न्याय दिनका लागि कुनै कसर बाँकी राख्न नहुने उनको भनाइ छ ।
‘न्यायमा सबै नागरिकको पहुँच हुनुपर्छ,’ उनले भने, ‘सबै क्षेत्रमा सबैको समान पहुँच हुनुपर्छ । न्याय दिने न्यायमूर्तिले निष्पक्ष रुपमा न्याय दिनुपर्छ ।’ मुख्यमन्त्री पौडेलले सरकारले गर्ने गौरवका आयोजनामा बाधा–अवरोध आएकाले त्यसो नगर्न आग्रहसमेत गरे ।
प्रदेश ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेलले पहुँचका आधारमा न्याय दिने काम अब रोकिनुपर्ने बताए ।