खुल्ला चौरमा प्रशिक्षण, खुल्ला चौरमै प्रतियोगिता « Nagarik Khabar

खुल्ला चौरमा प्रशिक्षण, खुल्ला चौरमै प्रतियोगिता



इलाम । इलाममा कराँते खेल शुरु भएको ३० वर्षभन्दा बढी भयो । तर, इलाममा खेलाडीलाई कराँते सिक्न सामान्य सुविधाको कभर्ड हल पनि छैन ।

कभर्ड हलकै अभावका कारण एक हजार भन्दा बढी कराँते खेलाडीले खुला चौरमा प्रशिक्षण लिन बाध्य छन् । पूर्वाधार अभावमा जिल्ला सदरमुकाममा अयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिता समेत खुला चौरमै गर्नुपर्ने बाध्यता रहेको छ ।

सदरमुकाम इलाम बजारको प्रशिक्षण कक्ष सानो छ । एउटै कक्षमा कराँतेसँगै बक्सिङ, उसु, टि टि, जुँडोका खेलाडीलाई प्रशिक्षण दिनुपर्छ । जिल्लामा विद्यालय, दोजो र क्लबमा आबद्ध एक हजार २०० भन्दाबढी कराँते खेलाडी छन् । राष्ट्रिय खेलकुद परिषदबाट खटाइएका चार स्वयंसेवकसहितका १६ प्रशिक्षकले खुला चौरमै खेलाडीलाई प्रशिक्षण दिँदै आएका छन् ।

खेलाडी र प्रशिक्षकले तीन दशकदेखि सुविधासम्पन्न कवर्ड हलको माग गरिरहे पनि अहिलेसम्म पूरा नभएको कराँते प्रशिक्षक प्रदीप शैजुले बताए ।

वि.स. २०४४ बाट राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा कराँते खेल शुरु भएको थियो । तीस वर्षको अवधिमा यहाँ उत्पादन भएका खेलाडीमध्ये ५० ले राष्ट्रिय र ३० ले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका छन् ।

यहाँ एकसय भन्दाबढी स्थानीयस्तरका प्रतियोगिता, २८ जिल्लास्तरीय रक्षेत्रीय तथा सात अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खुला चौरमै सम्पन्न भएका छन् ।

– रासस

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: