बन्द जुम्ला विमानस्थल सञ्चालनमा « Nagarik Khabar

बन्द जुम्ला विमानस्थल सञ्चालनमा



खलङ्गा । पछिल्लो झन्डै महिना दिनदेखि बन्द रहेको जुम्ला विमानस्थाल आजदेखि सञ्चालनमा आएको छ । धावनमार्गको कालोपत्रे गर्न यही वैशाख ५ गतेदेखि बन्द गरिएको विमानस्थल आजदेखि नियमित सञ्चालनमा आएको नागरिक उड्डयन प्राधिकरण जुम्लाका प्रमुख कैलाश शर्माले जानकारी दिए ।

स्तरोन्नतिको काम समयमै सकिएकाले आजदेखि विमानस्थल सञ्चालनमा आएको उनले बताए । विमानस्थल सुचारू भएको पहिलो दिन समिट एयरको जहाजले उडान भरेको छ । विमानस्थल धावनमार्गको कालोपत्रे गर्ने काम सकिएको र पार्किङको काम भने बाँकी रहेको शर्माले जानकारी दिए । पार्किङको काम बाँकी रहे पनि जहाज अवतरणमा समस्या नहुने बताइएको छ ।

पार्किङको बाँकी स्तरोन्नतिको काम निरन्तर भइरहने छ। विमानस्थलको स्तरोन्नति कार्यलाई छिटो सकाउने उदेश्यले २० दिनका लागि विमानस्थल नै बन्द गरिएको थियो ।

पार्किङकतर्फ स्तरोन्तिका लागि चाहिने निर्माण सामग्री आउन नसकेकाले स्तरोन्नति कार्यमा ढिलाइ हुने बताइएको छ । ६७५ मिटर धावनमार्ग कालोपत्रे गर्ने काम सकिएको हो । बाँकी पार्किङको काम जहाज चलाउँदै कालोपत्र गर्ने तयारी भइरहेको छ । पहिलो चरणमा झण्डै ३९० मिटर धावनमार्ग कालोपत्रे भइसकेको थियो ।

बाँकी २८० मिटर धावनमार्ग कालोपत्रको काम यो अवधिमा सकिएको हो । एपेक्स पृथ्वी र अमित जेभीले विमानस्थल मर्मतको जिम्मा पाएका थिए । विमानस्थल २० दिनसम्म बन्द भएपछि जुम्लादेखि सुर्खेत, नेपालगञ्जसम्मको हवाई सेवा बन्द भएको थियो ।

विसं २०४० देखि जुम्ला विमानस्थल मर्मतको काम हुन सकेको थिएन । विमानस्थलको कालोपत्रे उप्किएको, घाँस उम्रिएर जहाज अवतरण गर्न र उडान भर्न समस्या हुने गरेको थियो । विमानस्थलका लागि चार करोड ५२ लाख रकम विनियोजन भएको शर्माले जानकारी दिए । अब मौसका कारणबाहेक अरु कुनै कारणले उडान कार्यमा अवरोध नहुने भएको छ ।

पार्किङको काम जेठ महीनाभित्रमा सकिने छ । दुई चरणमा जुम्ला विमानस्थलको स्तरोन्नतिको काम भएको हो । जुम्लामा तारा, सीता, समिट र नेपाल एयरलाइन्सको जहाजले उडान भर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: