काठमाडौं । सरकारले दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि नियन्त्रण भएको दाबी गरिरहँदा बजारमा अधिकांश तरकारीको भाउ पोहोरभन्दा दोब्बर महँगो भएको छ। तरकारीको मूल्य अचाक्लि वृद्धि हुँदा भान्छा चलाउन हम्मे परेको समाचार आजको नागरिक दैनिकको आर्थिक पृष्ठमा छापिएको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्षको तुलनामा तरकारीको भाउ एक सय ४३ प्रतिशतसम्म बढेको छ। गत वर्षमात्र नभएर गत महिना (चैत) सँग तुलनामा गर्दा पनि भाउ अत्याधिक वृद्धि भएको हो।
निरन्तर वषात्ले तरकारी नष्ट हुँदा उत्पादनमा ह्रास, अफ सिजन, मागको आधारमा तरकारी उत्पादन नहुनु लगायतका कारणले तरकारीको भाउ बढेको व्यापारी बताउँछन्।
भान्छामा दैनिक रुपमा प्रयोग हुने गोलभेंडाको मूल्य किलो मै ५० रुपैयाँ बढेको छ। गत वर्ष वैशाख अन्तिम साता (२६ गते) ३५ रुपैयाँ किलो बिक्री भएको गोलभेंडा विहीवार ८५ रुपैयाँ किलोमा बिक्री भएको छ। गोलभेंडा गत वर्षमात्र नभएर यो गत महिना भन्दा पनि किलोमा ४० रुपैयाँ बढेको हो।