राजस्थानको धूलो काठमाडौंमा : कति दिन रहन्छ यस्तो मौसम ? « Nagarik Khabar

राजस्थानको धूलो काठमाडौंमा : कति दिन रहन्छ यस्तो मौसम ?



काठमाडौं । बादल लागेको छैन, त्यसैले पानी पर्ने कुनै छाँट पनि छैन । हिउँद नभएकाले कुहिरोको सम्भावना पनि छैन । तर पनि यतिबेला राजधानीको आकाश सफा छैन ।

केही दिन अघि पानी प¥यो, आकाश खुलेर नीलो थियो । तर अहिले रातो र घुर्मैलो रङ मिसिएको तुवाँलोले भरिएजस्तो देखिन्छ ।

“सडकमा धूलो नउडे पनि अनुहार र नाकमा धूलो परेजस्तो लाग्दैछ,” बटुवा रमिता सुवेदीले भन्नुभयो, “दिउँसो केही समय तातो हुन्छ तर साँझ बिहान चिसो महसुस गर्छु ।”

भारतको राजस्थानबाट आएको हुरीको परिणामले राजधानीको आकाश र मौसम धूलोले भरिएकोे मौसमविद् राजु प्रधानाङ्ग बताउनुहुन्छ । “थार मरुभूमिमा यतिबेला बालुवाको धूलोसहितको ठूलो हुरी चलिरहेको छ,” उहाँले थप्नुभयो, “चर्किदो घामसँगै बलौटे माटो हुरीसँगै उड्ने गर्छ ।”

उहाँका अनुसार यसलाई ‘डस्ट स्ट्रोम’ भनेर चिनिन्छ । हुरी बनेको स्थानमा न्यून चापीय प्रणालीको विकास हुँदा त्यो हुरी अन्यत्र सर्दै जान्छ । जसरी बादल सर्दै गएर अन्यत्र पानी पर्छ । त्यसरी नै बालुवासहितको हुरीको त्यो बाक्लो स्वरुप नेपाल लगायतका देशमा भित्री रहेको छ । आजको गोरखापत्र दैनिकको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

“राजस्थानमा चलेको पश्चिमी वायुले पूर्वतिर धकेल्दै भारतको बिहार, उत्तर प्रदेश हुँदै त्यो प्रदूषित हावा नेपाल आएको हो,” प्रधानाङ्गले थप्नुभयो, “थार मरुभूमिमा हुने मौसम प्रणालीमा यसरी नै हरेक वर्ष परिवर्तन आउनेगर्छ ।” यस्तो अवस्था नेपालमा अझै तीनचार दिन रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: