सरकारी जग्गा संरक्षण गर्न शक्तिशाली आयोग बन्छ : मन्त्री अर्याल « Nagarik Khabar

सरकारी जग्गा संरक्षण गर्न शक्तिशाली आयोग बन्छ : मन्त्री अर्याल



।। शेरबहादुर भुजेल
दोलखा । देशभरिको सरकारी जग्गा संरक्षण गर्न सरकारले शक्तिशाली आयोग गठन कार्यअघि बढाएको भूमि व्यवस्था, सहकारी, तथा गरीवी निवारणमन्त्री पद्माकुमारी अर्यालले बताउनुभएको छ । दोलखा सदरमुकाम चरिकोटस्थित नापी कार्यालय दोलखाको नवनिर्मीत कार्यालय भवनको आज (शुक्रबार) उद्घाटन गर्दै मन्त्री अर्यालले यस्तो बताउनुभएको हो ।

देशभर सरकारी जग्गा अतिक्रमण भइरहेको गुनासो आइरहेको भन्दै सरकारले अब शक्तिशाली आयोग गठन कार्य अघि बढाएको र सरकारको जमिन सरकारकै नाममा फिर्ता ल्याउने मन्त्री अर्यालको प्रतिवद्धता जनाउनुभयो । आयोग गठनपश्चात अब छिट्टै नै सरकारी जग्गा मिचेको गुनासो आइरहेका स्थानमा पुगी निरीक्षण गर्ने र अनुसन्धान गरी मिचिएको जग्गा सरकारको नाममा ल्याउने अभियानका साथ अघि बढेको उहाँको भनाई छ । सरकारको यो कदमलाई साथ दिन मन्त्रीअर्यालले आव्हानगर्नुभएको छ ।

अर्को प्रसङ्गमा मन्त्री अर्यालले केही कर्मचारीका कारण मालपोत, नापी कार्यालयको छवि बिग्रिएको भन्दै सेवाग्राही खुशी हुने किसिमले सेवा प्रवाह गर्न कर्मचारीलाई अनुरोध गर्नुभयो । सेवा लिन पाउनु सेवाग्राहीको अधिकार भएकोले सेवाग्राहीबाट गुनासो नआउने गरी कार्य गर्न मन्त्री अर्यालले बताउनुभयो । कार्यालयमा सुशासन कायम गर्न अनलाईन पद्धती लागु गरिरहेको र यो पद्धतीलाई देशभर विस्तार गर्ने तयारी भइरहेको उहाँको भनाइ छ ।

नापी विभागका महानिर्देशक प्रकाश जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधि सभाका सांसद पार्वत गुरुङ, प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, नापी कार्यालय दोलखाका प्रमुख राजु पुरी लगायतले मन्तव्य राख्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: