आईपीएल दोस्रो क्वालिफायर – अनुभवी चेन्नाईविरुद्व युवा दिल्ली « Nagarik Khabar

आईपीएल दोस्रो क्वालिफायर – अनुभवी चेन्नाईविरुद्व युवा दिल्ली



दिल्ली । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दोस्रो क्वालिफायर खेलमा चेन्नाई सुपर किङ्स र नेपाली युवा खेलाडी सन्दीप लामिछाने आवद्व रहेको दिल्ली क्यापिटल्स भिड्दै छन् ।

यो प्रतिस्पर्धाबाट १२औं संस्करणको आईपीएलको फाइनलमा पुग्ने दोस्रो टोलीको टुङ्गो लाग्ने छ । मुम्बई इन्डियन्स यस अघि नै फाइनलमा प्रवेश गरिसकेको छ । पहिलो क्वालिफायर खेलमा मुम्बईसँगै पराजित भएपछि चेन्नाई दोस्रो क्वालिफायर खेल्न आइपुगेको हो ।

यस्तै दिल्ली इलिमिनेटरमा सनराइजर्स हैदरावादलाई पराजित गर्दै दोस्रो क्वालिफायरमा आइपुगेको हो । यी दुई टोलीबीचको प्रतिस्पर्धालाई अनुभवी टोलीविरुद्व युवा अर्थात नयाँ टोलीको प्रतिस्पर्धाको रुपमा हेरिएको छ ।

साविक विजेता चेन्नाईले आईपीएलमा हालसम्म तीन उपाधि जितिसकेको छ र आठौं पटक आईपीएलको फाइनलमा स्थान सुरक्षित गर्ने प्रयासमा छ । भारतीय राष्ट्रिय टोलीका पूर्वकप्तान महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नाईमा पुराना र अनुभवी खेलाडीकै बाहुल्यता छ । त्यसको तुलनामा दिल्ली पहिलो पटक आईपीएलको फाइनल खेल्ने प्रयास गर्दै छ । श्रेयस अयरको कप्तानीमा रहेको दिल्लीको टोलीमा प्रायः युवा खेलाडीको बाहुल्यता छ ।

चेन्नाईका धोनी र सुरेस रैनाले मात्रै आईपीएलको प्लेअफ चरणमा २२/२२ खेल खेलेका छन् । दिल्लीमा भएका सवै खेलाडीको जोड्ने हो भने २७ मात्रै पुग्छ ।

आईपीएल इतिहासमा यी दुई टोलीले २० खेल खेल्दा १४ खेलमा चेन्नाई विजयी भएको छ । यो सिजन पनि समूहगत चरणको खेलमा भएका दुईमध्ये दुवै खेलमा चेन्नाई विजयी भएको छ । पहिलो खेलमा ६ विकेटले पराजित भएको दिल्लीले दोस्रो खेलमा ८० रनको हार बेहोरेको थियो । यो भेटको नतिजा के होला ?

चेन्नाई आठौं पटक फाइनलमा पुग्न सफल रहला वा चेन्नाईविरुद्वको जिङ्क तोड्दै दिल्ली पहिलो पटक आईपीएलको फाइनलमा पुग्न सफल होला ? त्यसका लागि खेलको अन्तिम बलसम्म कुर्नुपर्ने छ ।

केही रोचक तथ्य ।

  • चेन्नाई र दिल्लीले आईपीएलमा अहिलेसम्म २० खेल खेलेका छन् । जसमध्ये १४ खेलमा चेन्नाई विजयी भएको छ ।
  • जारी आईपीएलको सुरुवातमा पाँचमध्ये तीन खेल हारेको दिल्लीले त्यसपछिका अन्तिम १० मध्ये आठ खेलमा जित हात पारेको छ ।
  • चेन्नाई सुपर किङ्सले सुरुवाती आठमध्ये सात खेलमा जित हात पारेको थियो । यद्यपि त्यसपछि अन्तिम सातमध्ये पाँच खेलमा पराजय बेहोरेको छ ।
  • दिल्लीका अमित मिश्रा र अक्षर पटेलले चेन्नाईका अष्टे«लियन खेलाडी शेन वाटशनलाई पाँच पटक आउट गराएका छन् ।
  • चेन्नाई सुपर किङ्सका स्पिनरहरूले यो सिजन मात्रै ५५ विकेट लिएका छन् । जुन आईपीएलको कुनै पनि सिजनमा कुनै एक टोलीका स्पिनरहरूले लिएकामध्ये सर्वाधिक विकेट हो ।
प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: