काठमाडौं । महिला क्रिकेटको फेञ्चाइज क्रिकेट प्रतियोगिता वुमन्स च्याम्पियन्स लिग (डब्ल्यूसीएल) खेल्न एक सय भन्दा बढी खेलाडीले आवेदन दिएका छन् । आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्टले प्रतियोगिता खेल्नका लागि एक सय सात खेलाडीले आवेदन दिएको जनाएको हो ।
‘हामीले प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीहरूका लागि आवेदन मागेका थियौं’, क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रा.ली.का प्रवन्ध निर्देशक छुम्वी लामाद्धारा जारी विञप्तिमा भनिएको छ, ‘त्यसमा एक सय सात खेलाडीले आवेदन दिएका छन् ।’ क्विन्स इभेन्टले यही वैशाखको १९ गतेदेखि २५ गतेसम्म प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीका लागि आवेदन खुल्ला गरेको थियो ।
आयोजक क्विन्स इभेन्टले आवदन दिएका यी खेलाडीहरूलाई प्रतियोगितामा सहभागी हुने पाँच टोलीले ड्राफ्टमार्फत छनोट गर्ने जनाएको छ ।
प्रतियोगितामा चितवन राइनोज, क्यापिटल्स रोयल्स काठमाडौं, पोखरा पल्टन, ललितपुर फाल्कोन्स र विराटनगर टाइटन्स गरी पाँच टोलीले सहभागीता जनाउदै छन् । चितवनका मालिक मिंग्मा डण्डु शेर्पा र मार्की खेलाडी इन्दु बर्मा रहेका छन् ।
यस्तै क्यापिटल्स रोयल्स काठमाडौंको मालिक दीपा अग्रवाल र मार्की खेलाडी रुविना क्षेत्री, पोखरा पल्टनको मालिक विनायक पोखरेल र सीता रानामगर मार्की खेलाडी तथा विराटनगरका मालिक पारस लुनिया र सरिता मगर मार्की खेलाडी रहेका छन् ।