काठमाडौं । शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा कार्यरत नर्सहरुले सेवा सुविधाको माग गर्दै अनसनमा उत्रिएका छन् ।
समयमै तलब दिनुपर्ने, ठेकदार प्रक्रिया हटाई सम्पूर्ण कर्मचारीहरुलाई अस्पतालले नै तलबको व्यवस्था गर्नुपर्ने, सरकारी अस्पतालसरह सेवा सुविधा उपलब्ध गराउनु पर्ने, पुरानो कर्मचारीको कार्यसम्पादन मूल्यांकनका आधारमा ग्रेडिङ गरिनु पर्नेलगायतका माग गर्दै उनीहरु लाजिम्पाटस्थित नेपाल नर्सिङ संघको कार्यालय परिसरमा गत बुधबारदेखि अनसन बसेका हुन् ।
अस्पतालले स्थायी कर्मचारीका लागि खुला गरिएको आवेदन आपसी मिलेमतोमा निकालिएको भन्दै उनीहरुले आपत्ति जनाएका छन्। नर्सहरुको पेशागत संस्था नर्सिङ संघले पेशाकर्मीहरुभन्दा राजनीतिलाई प्राथमिकता दिँदा नर्सिङ पेशा धरापमा परेको आन्दोलनरत नर्सहरुको दाबी छ । उनीहरुले समस्यामा समाधानका लागि संघले सक्रियता देखाउनुपर्ने माग गरेका छन्। माग सम्बोधन नभएसम्म आन्दोलन जारी आन्दोलकारीको भनाइ छ ।
यता नर्सिङ संघका पदाधिकारीले आन्दोलित नर्सहरुको समस्याबारे सरोकारवाला निकायसँग छलफल गरिरहेको जनाएको छ। आन्दोलन नर्सिङ संघभन्दा पनि अस्पतालसँग सम्बिन्धित रहेको बताएको छ ।