आईपीएल उपाधि होडबाट बाहिरीयो सन्दीप लामिछाने आवद्व रहेको दिल्ली « Nagarik Khabar

आईपीएल उपाधि होडबाट बाहिरीयो सन्दीप लामिछाने आवद्व रहेको दिल्ली



विशखापट्नम । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने आवद्व रहेको दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि होडबाट बाहिरीएको छ । शुक्रबार भएको दोस्रो क्वालिफायर खेलमा साविक विजेता चेन्नाई सुपर किङ्ससँग ६ विकेटले पराजित हुँदै दिल्ली प्रतियोगिताबाट बाहिरीएको हो ।

यससँगै पहिलो पटक आईपीएलको फाइनल खेल्ने दिल्लीको सपना समाप्त भएको छ । आईपीएलको पहिलो संस्करणबाटै सहभागी हुँदै आइरहेको दिल्लीले अहिलेसम्म फाइनलको यात्रा पनि तय गर्न सकेको छैन । दिल्लीलाई पराजित गर्दै चेन्नाई भने आईपीएलको आठौं पटक फाइनलमा प्रवेश गरेको छ । साविक विजेता चेन्नाई आईपीएलको तीन पटकको उपाधि विजेता टोली हो ।

विशखापट्नममा टस हारी पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा नौं विकेट गुमाउँदै एक सय ४७ रनको योगफल तय गरेको थियो । जवाफमा चेन्नाईले १९ ओभरमा मात्र चार विकेट गुमाएर जित निश्चित गरेको हो ।

चेन्नाईको जितमा प्रारम्भिक ब्याट्सम्यानद्धय फ दु प्लेसिस् र शेन वाट्शनले समान ५०/५० रनको योगदान दिए । प्लेसिस्ले आफ्नो पालीमा एक छक्का र सात चौका प्रहार गरेका थिए भने वाट्शनले चार छक्का र तीन चौका प्रहार गरेका थिए । त्यसबाहेक अम्बाती रायडूले २० बलमा २० रन प्रहार गरे । दिल्लीका लागि भने रिशव पन्तले २५ बलमा ३८ रन तथा कोलिन मुन्रोले २४ बलमा २७ रन जोड्न बाहेक अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् ।

दिल्लीलाई सस्तो योगफलमा समेट्न चेन्नाईका दीपक चहर, हर्भजन सिंह, रभिन्द्र जडेजा र ड्वाइन ब्राभोले दुई/दुई विकेट लिए । दिल्लीका टे«न्ट बोल्ट, इशान्त शर्मा, अक्षर पटेल र अमित मिश्राले एक/एक विकेट लिए । चेन्नाई पहिलो क्वालिफायर खेलमा मुम्बई इन्डियन्ससँग पराजित हुदै दोस्रो क्वालिफायर खेल्न आइपुगेको हो । दिल्ली इलिमिनेटरमा सनराइजर्स हैदरावादलाई पराजित गर्दे दोस्रो क्वालिफायर खेलमा चेन्नाईसँग प्रतिस्पर्धा गर्न पुगेको हो ।

आईपीएल इतिहासमा इलिमिनेटर जितेर अघि बढेका मात्रै दुई टोली फाइनलमा पुगेका छन् । तेस्रो टोली बन्ने दिल्लीको योजना चेन्नाईसँगको पराजयसँगै समाप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: