‘पेस्तोल ल्याउने’ र ‘खरानीमाथि संविधान जारी गर्ने’ शब्द पनि हटाइएको थियो « Nagarik Khabar

‘पेस्तोल ल्याउने’ र ‘खरानीमाथि संविधान जारी गर्ने’ शब्द पनि हटाइएको थियो



काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जबाफ दिने क्रममा प्रधानमन्त्रीले बोलेका असंसदीय शब्द अभिलेखबाट हटाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जबाफ दिने क्रममा ‘निम्छरो’ शब्द प्रयोगप्रति आपत्ति जनाउँदै प्रमुख प्रतिपक्षीले नाराबाजी गरेका थियो।

संसदमा प्रधानमन्त्रीले बोलेका शब्द अभिलेखबाट हटाइएको यो पहिलोपटक भएको सांसदहरुको भनाइ छ। २०४८ सालपछि निरन्तर निर्वाचित सांसद हृदयश त्रिपाठीले भने, ‘मन्त्री र सांसदले बोलेको शब्द गैरसंसदीय भनेर रेकर्डबाट हटाइएको इतिहास छ तर प्रधानमन्त्रीले बोलेको कुरा रेकर्डबाट हटाएको थाहा छैन।’

२०६३ सालमा पुनस्र्थापित प्रतिनिधिसभा बैठकमा तत्कालीन माओवादी सांसद लोकेन्द्र बिष्टले संसदभित्रै पेस्तोल लिएर आउने चेतावनी दिएका थिए। उनले बोलेको सो वाक्य तत्कालीन सभामुख सुवास नेम्वाङले अभिलेखबाट हटाउन लगाएका थिए।

यस्तै २०६४ सालमा गठित संविधानसभा बैठकमा तत्कालीन माओवादीका सांसद गोपाल किरातीले ‘संविधान जारी गर्न नदिए नदिनेलाई खरानी बनाएर खरानीमाथि संविधान जारी गर्ने’ अभिव्यक्ति दिएका थिए। संविधानसभाका तत्कालीन अध्यक्ष सुवास नेम्वाङले सो शब्द तत्कालै अभिलेखबाट हटाएका थिए। आजको नागरिक दैनिकले पहिलो पृष्ठमा यो समाचार छापेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: