काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले ५०औं वैवाहिक वर्षगाँठ एनसेल लाभकर प्रकरणसँग जोडिएका निरजगोविन्द श्रेष्ठको भव्य बंगलामा मनाए। सीतासँग वैवाहिक बन्धनमा बाँधिएको ५० वर्ष पुगेको उपलक्ष्यमा दाहालले बिहीबार भव्य भोजसहितको कार्यक्रम आयोजना गरेका थिए।
व्यापारी श्रेष्ठ एनसेलले सरकारलाई बुझाउन बाँकी ३९ अर्ब रुपैयाँभन्दा बढी पुँजीगत लाभकरसँग जोडिएका छन्। यति बेला एनसेलले ठूला करदाता कार्यालयले निर्धारण गरेको करविरुद्ध हालेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। श्रेष्ठको सुनाकोठी (ललितपुर) स्थित १८ रोपनीमा फैलिएको निवास परिसरमा दाहालले ५०औं वैवाहिक वर्षगाँठ मनाइरहँदा एनसेलको लाभकर र सत्तारुढ दलका अध्यक्षबीचको यो साइनोबारे सहभागीले आपसमा चर्चा गरेका थिए। आजको नागरिक दैनिकको पहलिो पृष्ठमा यो समाचार छापिएको छ ।
राज्यसँग मुद्दामामिला गरिरहेका र ठूलो परिमाणको कर बुझाउनुपर्ने व्यापारीसँग आफ्ना नेताको साँठगाँठ र भव्य भोजले आफूलाई ‘लज्जाबोध भएको’ नेकपाका केही नेताले नाम उल्लेख नगर्ने सर्तमा बताए। यो घटनाले प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रष्टाचारविरुद्धको ‘शून्य सहनशीलता’ लाई समेत जिस्क्याएको अनुभूति भएको ती नेताको बुझाइ छ।