मैलुङ-स्याफ्रु खण्डको नयाँ राजमार्ग सुधार गर्न दलहरु सहमत « Nagarik Khabar

मैलुङ-स्याफ्रु खण्डको नयाँ राजमार्ग सुधार गर्न दलहरु सहमत



रसुवा । स्याफ्रबेँसी मैलुङखण्डको नयाँ राजमार्ग सुधारका लागि जिल्लामा क्रियाशील राजनीतिक दल सहमत भएका छन् । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का जिल्ला अध्यक्ष कर्नेल तामाङका अनुसार आफ्नो दलका साथै नेपाली काङ्ग्रेस एवं नयाँशक्ति दलको एकता र सहयोगबाट मैलुङ स्याफ्रु खण्डको नयाँ राजमार्गमा सहजरुपले यातायात सञ्चालन गराउन सुधारको अभियान सञ्चालन गरिएको हो ।

नेपाल चीनबीचको व्यापार व्यवसाय अभिवृद्धि गर्न उत्तरी नाका क्रमशः व्यवस्थित र मर्यादित बनाउने अभियानअन्तर्गत विसं २०७४ मा नेपाली सेनाले खोलेको स्याफ्रुबेँसी–मैलुङखण्डको १७ किमी राजमार्गको धुञ्चे पुच्छार त्रिशूली खोलालगायतका स्थानमा ह्युमपाइप राखिएको र पहिरोका कारण असहज स्थानमा सडक मिलाउन थालिएको उनले जानकारी दिए ।

ह्युमपाइपलगायत सिमेन्ट उधारोमा खरीद गरी राजमार्ग व्यवस्थित पार्न लागिएको उल्लेख गर्दै नेपाली काङ्ग्रेसका सभापति पेम्बा छिरिङ तामाङले त्रिशूली खोलामा मोटरसाइकल तार्दा डुब्ने, स–साना जिपको साइलेन्सरमा पानी पस्न गई सवारी साधन बिग्रन थालेका र केरुङबाट सामान लिई आएका डिब्बासमेत पल्टिन गएका कारण जोखिम न्यूनीकरण गर्न दलबीच सहकार्य गरी सुधारका अभियान चालिएको बताए ।

राजमार्गका खोलामा ह्युमपाइप राख्ने काम सम्पन्न भइसकेको र अहिले सडक सतह मिलाउने काम भइरहेको सभापति तामाङले बताए । प्रजिअ अर्जुन भण्डारीको समन्वयनमा नेकपा र नेकाका सभापति एवं आमाछो दिङमो गाउँपालिका–१ को सहयोगका कारण त्रिशूली खोलामा ह्युमपाइप राखिएको र सांसद मोहन आचार्यले निःशुल्क स्काभेटर उपलब्ध गराएको वडाध्यक्ष निमा दिण्डु तामाङले जानकारी दिए ।सडक सुधारमा यहाँ निर्माणाधीन रसुवागढी तथा साञ्जेन हाइड्रोपावरको केही सहयोग रहेकोसमेत वडाध्यक्ष तामाङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: