बाँदरले महिलालाई नै किन गर्छ आक्रमण ? (भिडियोसहित) « Nagarik Khabar

बाँदरले महिलालाई नै किन गर्छ आक्रमण ? (भिडियोसहित)



काठमाडौँ । नेपालको सहरी क्षेत्रमा रहेका राता बाँदर आक्रमक बन्दै गएका छन् । नेपालमा बाँदरको सङ्ख्या पछिल्लो एक दशकमा २५ प्रतिशतले बढ्दै गएको छ ।प्राकृतिक रूपमा वासस्थानको राम्रो व्यवस्था र जनावरको संरक्षणमा नागरिक क्रियाशील रहेकै कारण बाँदरको सङ्ख्या बढ्दै गएको हो । नेपालमा लङ्गुर, रातो र आसामी गरी ३ प्रजातिमा ६ उपजातिका बाँदर पाइन्छन् ।

हेर्नुस् बाँदरले महिलालाईनै आक्रमण गर्नुको कारण भिडियोमा

नेपालमा एक लाखको हाराहारीमा बाँदर रहेको जनावरविद्ले अनुमान लगाएका छन् । मान्छेलाई सबैभन्दा बढी दुःख दिने रातो बाँदरले काठमाडौँको पशुपति, मकालु वरुण आसपास, पाल्पाको मतिनडाँडा, काभ्रेको बल्थली, शिवपुरी र लाङ्टाङ्ग आसपासका क्षेत्रमा आतङ्कै फैलाउने गरेको छ । घाँटीको दुवै तर्फ थैली हुनाले कुनै ठाउँमा बाली नोक्सान गर्दा बाँदरले छिटो-छिटो खाएर जम्मा गर्छ त्यसैले थोरै समयमा धेरै नोक्सान पुर्याउँछ । 

नेपालका बाँदरको विनाशलाई मात्र रोक्न सक्ने हो भने प्रति बाँदर दैनिक कम्तीमा एक किलो खाद्यान्न जोगाउन सकिन्छ । नेपालमा रहेका झन्डै एक लाख बाँदरले दैनिक एक किलोका दरले किसानको एक लाख किलो खाद्यान्न खाने र नष्ट गर्ने गरेका छन् । बाँदर विज्ञ डा.मुकेश चालिसेका अनुसार एउटा बाँदरले दैनिक एक किलोको हाराहारीमा खाने र तीनकिलोको हाराहारीमा खाद्यान्न नष्ट गर्ने गर्छ ।

काभ्रेको माङ्खा, नुवाकोटको भोर्ले, पाल्पाको मतिनडाँडा, लगायत देशका दर्जनौँ ठाउँमा बाँदरले भोकमरी नै निम्ताएको छ । कतिपय ठाउँबाट बसाई समेत सराईगर्नुपरेको छ भने पहिले धादिङको सल्यानटारमा त झन् केटाहरूको विवाह गर्न समेत गाह्रो हुन्थ्यो । बाँदरले खाद्यान्न पुरै नष्ट गर्ने र मानिसलाई धेरै दुख दिने भएका कारण त्यहाँ केटाहरूको विवाह गर्न गाह्रो भएको बाँदर विज्ञ चालिसेको भनाई छ ।

बाँदरले कुनै पनि कुरा तत्काल सिक्न सक्ने भएकाले कुनै पनि उपाय एक दुई पटक भन्दा काम लाग्दैन । नियन्त्रणका लागि नयाँ नयाँ तरिकाको विकास गर्नु पर्ने हुन्छ । बाँदर र मानिसका शारीरिक अगंहरु मिल्दो मिल्दोजुल्दो भएका कारण विभिन्न औषधी र खोपको परीक्षणमा बाँदर निकै उपयोगी मानिँदै आएको छ ।

महिलालाई आक्रमण गर्नुको कारण के त ?

राता बाँदरले मानिसका विभिन्न क्रियाकलाप छिटो सिक्ने गर्छन् । खास गरी मानिसमा आक्रमण गर्दा उनीहरूले महिला र बालबालिकालाई सजिलै आक्रमण गर्छन् । महिला र बालबालिकाले प्राय खानेकुरा आफूसँगै लिएर हिँड्छन् । त्यति मात्र होइन ससाना कुरामा पनि महिला र बालबालिका डराउने भएकाले पनि बाँदरले उनीहरूको चालचलन, आनिबानी बुझिरहेका हुन्छन् । आफूभन्दा कमजोर ठानेर बाँदरले महिलालाईनै आक्रमण गर्ने गरेको विज्ञको भनाइ छ ।

बाँदरले शरीरबाट निस्कने विभिन्न रासायनिक पदार्थ थाहा पाउने र महिलाहरु वयश्क तथा रजश्वला भएको गन्ध पनि थाहा पाउँछ । त्यसैले उमेर पुगेकालाई कुनै बद्मास खालको भाले बाँदरले आक्रमण गर्न सक्छ । मनोभावनाका हिसाबले पनि महिला बाँदर देख्दासाथ डराउँछन् भने पुरुष नडराईकन अगाडी बढ्छन् । त्यसैले बाँदरले महिलालाई आक्रमण गर्छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: