केन्द्रीय कारागारमा दुई ‘गुण्डा नाइके’को भेट, बाहुनले बोलाए बस्नेतलाई « Nagarik Khabar

केन्द्रीय कारागारमा दुई ‘गुण्डा नाइके’को भेट, बाहुनले बोलाए बस्नेतलाई



काठमाडौं । दुई वर्षअघि निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनको हत्या घटनाको मुख्य योजनाकार समीरमानसिंह बस्नेत यतिबेला केन्द्रीय कारागारमा छन् । कारागारमा उनको भेट अर्का ‘गुण्डा नाइके’ रमेश बाहुन भनिने सुजन पौडेलसँग सधैंजसो भेट हुने गरेको छ ।

गौचन हत्या अभियोगमा २९७४ मंसिर १७ मा पक्राउ परेका काठमाडौं बाफलका बस्नेत र २०७१ सालमा हत्या र लागूऔषध कारोबार अभियोगमा पक्राउ परेको र अर्का गुन्डा नाइके रामेछाप दुरागाउँका रमेश बाहुन दुवैजना केन्द्रीय कारागारमा छन् । बाहुनको छेउमा बस्नेत ‘फुच्चे गुण्डा’ हुन् । तर, गौचनको हत्यापछि केन्द्रीय कारागार पुगेका बस्नेतलाई बाहुनले नै बोलाएर कुरा गर्न थालेका कारागार स्रोतले जनाएको छ ।

बस्नेत काठमाडौंमा रहँदा जेलबाटै व्यवसायीहरुलाई धम्क्याएको सूचनाको आधारमा एक वर्षअघि मुस्ताङ कारागार सरुवा गरेको थियो । उनलाई मुस्ताङ कारागार लगेपछि श्रीमती माया शेरचनले सर्वोच्च अदालतमा रिट दायर गरी काठमाडौंकै कुनै एक कारागारमा ल्याउन माग गरेकी थिइन् । उक्त रिटको सुनुवाइ गर्दै सर्वोच्चले केन्द्रीय कारागारमा सरुवा गर्न आदेश दिएको । आदेश मुताविक कारागार व्यवस्था विभागले बस्नेतलाई जगन्नाथदेवलस्थित केन्द्रीय कारागारको पनि गोलघरभित्र राखेको थियो । केन्द्रीय कारागार शाखाले घाम ताप्ने र बाहिर घुमाउन (रमणीय नाइके मार्फत) उनलाई दिउँसो गोलघरबाट बाहिर निकाल्ने व्यवस्था गर्‍यो । त्यही मौकामा बस्नेतले बाहुनसँग नियमित सम्पर्क गर्न पाए ।

उनीहरुको नियमित भेटले ठेकेदारहरुसँग सम्पर्क बढाउन सहयोग पुगेको स्रोतले बताएको छ । दुवैको अपराधिक पृष्ठभूमि ठेक्कापट्टा मिलाउने र ठेक्का कब्जाबाट शुरु भएको हो । बाहुन नेपाली सेनाको जागिर छाडेर वीपी राजमार्गमा पेटी ठेक्का लिनेबाट रकम असुली गरेर गुण्डागर्दी शुरु गरेका हुन् भने बस्नेतले राधे भन्ने राधा श्रेष्ठ र चरी भन्ने दिनेश अधिकारीको संगतबाट पैसा असुली गर्दे गुण्डागर्दीमा प्रवेश गरेका हुन् । बाहुन र बस्नेतले नेपालका चर्चित निर्माण व्यवसायीहरुबाटै धेरै रकम असुली गरेको प्रहरीको दावी छ ।

दुई वर्षअघि २०७४ असोज २३ मा आफूले मागेको साढे २ करोड रुपैयाँ नदिएको भन्दै बस्नेतको योजनामा नै निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्या भएको थियो ।

रमणीय नाइकेमार्फत बाहिर निस्कने बस्नेत र बाहुनले भेटका क्रममा आगामी योजना बनाउने गरेको बताइन्छ । उनीहरुबीच दिनभर भएको योजना समीरले आफ्ना नजिकका आफन्तमार्फत गुण्डा समूहलाई प्रवाह गर्ने गरेको पनि स्रोतको दावी छ ।

जेलमा रहेका गुण्डाले निर्माण व्यवसायीलाई तर्साउन थालेको गुनासो आएपछि भने कारागार व्यवस्थापन विभागले काठमाडौंका तीन वटै जेल प्रशासनलाई गुण्डाहरुको गतिविधि निगरानी गर्न निर्देशन दिएको छ । विभागका महानिर्देशक हरिप्रसाद मैनालीले कारागारभित्रबाट टेलिफोन गरेर बाहिर धम्क्याएको गुनासो आएपछि उनीहरुको गतिविधिबारे निगरानी गर्न निर्देशन दिएको बताए । ‘भेटघाटमा कडाई गरिएको छ,’ विभागका महानिर्देशक मैनालीले भने ‘कसलाई र किन भेट्ने त्यो विषय खुलेर आउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: