समाजवादी पार्टीले सरकार नछाड्ने ! « Nagarik Khabar

समाजवादी पार्टीले सरकार नछाड्ने !



काठमाडौँ । सङ्घीय समाजवादी पार्टी नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच एकतापछि बनेको समाजवादी पार्टीले तत्काल सरकार नछाड्ने भएको छ । समाजवादी पार्टीको तर्फबाट अहिले उपप्रधान तथा स्वास्थ्य मन्त्रीमा अध्यक्ष उपेन्द्र यादव र सहरी विकास मन्त्रीमा पार्टी सचिव मोहम्मद इस्तीयाक राई सरकारमा छन् ।

संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच एकताका क्रममा सरकारलाई माग पुरा गर्नका लागि निश्चित समय दिने र माग पुरा नभएमा सरकार छाड्ने औपचारिक सहमति भए पनि अध्यक्ष यादव तत्काल सरकार छाड्ने अवस्थामा छैनन् । उनले राजपासँग एकता भएपछि मात्र सरकार छाड्नुपर्ने तर्क पार्टीभित्र गर्न थालेका स्रोतको दाबी छ । अर्का अध्यक्ष डा. बाबुराम भट्टराई भने निश्चित समय सीमा दिएर सरकारबाट बाहिरिनुपर्नेमा अडिग छन् ।

समाजवादी पार्टीका एक प्रभावशाली नेताले आफ्नो पार्टीले सरकार छाडिदिँदा राजपा नेपाल सरकारमा जाने र आफूहरू सडकमा हुने अवस्था आउने भएकाले तत्काल सरकार नछाड्ने अवस्थामा यादव पुगेको बताए । तर समाजवादी पार्टीका नेता नवराज सुवेदीले भने आफूहरूले निश्चित समय सीमा दिएर सरकार छाड्न सक्ने बताए । उनले भने ‘पार्टीले यसअघि पनि माग पुरा गर्नका लागि सरकारलाई मागपत्र बुझाएको छ । फेरि एक पटक मागपत्र बुझाउँछौँ । सरकारले माग पुरा नगरेमा पार्टी बैठक बोलाएर छलफल गछौं । सरकारको काम प्रति पार्टी सन्तुष्ट छैन ।’

पूर्व फोरम आबद्ध समाजवादी पार्टीका नेताले भने सरकारमा बसेरै सङ्घर्ष गर्नुपर्नेमा पार्टीले निर्णय लिने बताएका छन् । उनले भने ‘विकास निर्माण लगायत विभिन्न काममा सरकारबाट काम भएको छ । मधेसको एजेन्डा सरकारबाट बाहिरिँदा मात्र पुरा हुँदैन । त्यसैले राजपासँग एकता भएपछि सरकारबाट हट्न सकिन्छ । अहिलेको अवस्थामा सरकारबाट बाहिरिने कुरा केटाकेटी व्यवहार हुन्छ ।’ आफूले सरकार छाड्दासाथ राजपा सरकारमा जाने र आफूहरूले कार्यकर्ता व्यवस्थापन गर्न समेत समस्या हुने यादव पक्षधरको बुझाई छ । प्रदेश दुईको सरकार समेत हेरफेर हुनसक्ने भएकाले तत्काल समाजवादी पार्टीले सरकार नछाड्ने ती नेताको तर्क छ ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: