प्रेस स्वतन्त्रताविरोधी प्रावधान नसच्याइए मिडिया मिसन बोलाउने महासंघको चेतावनी (भिडियोसहित) « Nagarik Khabar

प्रेस स्वतन्त्रताविरोधी प्रावधान नसच्याइए मिडिया मिसन बोलाउने महासंघको चेतावनी (भिडियोसहित)



काठमाडौं । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको अंकुश लगाउने काम बन्द नभए अन्तर्राष्ट्रिय मिडिया मिसन बोलाउने चेतावनी दिएको छ ।

संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयकको प्रेस स्वतन्त्रताविरोधी प्रावधानबारे शनिबार काठमाडौंमा भएको अन्तरक्रियामा महासंघका महासचिव रमेश विष्टले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी प्रावधानहरु नसच्चिए अन्तर्राष्ट्रिय मिडिया मिसन बोलाउने चेतावनी दिएका हुन् । विधेयक कानुनको रुपमा आइसकेपछि नेपालमा स्वतन्त्र पत्रकारिता रहँदैन भन्नेमा महासंघ प्रष्ट उल्लेख गर्दै सरकारको कदमविरुद्ध महासंघले आइतबारदेखि साताव्यापी आन्दोलन घोषणा गरेको महासचिव विष्टले जानकारी दिए । उक्त आन्दोलनको सुनुवाइ नगरेका अन्तर्राष्ट्रि मिडिया मिसनलाई बोलाउने बताइएको छ ।

‘आन्दोलनबाट सच्चिएन भने हामी नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको असल मित्रको रुपमा रहँदै आएको अन्तर्राष्ट्रिय समुदायलाई हामी गुर्हाछौँ । हामी अन्तर्राष्ट्रिय नीतिगत मिडिया मिसन नेपालमा बोलाउँदैछौ ।’ उनले भने, ‘अन्तर्राष्ट्रिय समुदायले नेपालका कानुनहरु कस्ता बनिरहेका छन् ? यो नेपालको संविधानअनुसार छ कि छैन भनी सोधिरहेका छन् ।’

सरकारले लोकतन्त्रको आवरणमा निरंकुशता लाद्न खोजेको टिप्पणी महासचिव विष्टको दाबी छ । विधेयकमा भएको व्यवस्थाअनुसार मिडिया काउन्सिलको पदाधिकारी नियुक्तिले मिडिया काउन्सिलको स्वायत्ततालाई रक्षा नगर्ने भन्दै काउन्सिल गठन प्रक्रिया र नियतमा खराबी देखिएको टिप्पणी गरे । विधेयकमा गरिएको मनासिव क्षतिपूर्तिको व्यवस्थाले स्वनियन्त्रणलाई बढाई नेपालमा पत्रकारिताको मुल मर्म र चुरोलाई मार्ने भन्दै उनले सो व्यवस्थाप्रति आपत्ति जनाए ।

‘यो विधेयक हामी कुनै पनि हालतमा स्वीकार गर्दैनौँ । यदि यो विधेयक पारित भएर कानुनको रुपमा आयो भने नेपालका सञ्चारकर्मीहरु यो कानुन मान्दैनौँ,’ उनले चेतावनी दिँदै भने, ‘प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामा हामी सम्झौता गर्दैनौँ । यो हामीलाई स्वीकार्य छैन ।’

दरबार र सेनासँग अधिकारका लागि लडेको महासंघको इतिहास बलियो रहेको उल्लेख गर्दै महासविच विष्टले अहिले पनि सरकारको निरंकुशता र प्रेसस्वतन्त्रताविरोधी कदमको डटेर प्रतिवाद गर्ने बताए ।

कार्यक्रममा प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले फेरि एकपटक प्रेस स्वतन्त्रताका लागि सडकमा उत्रनुपर्ने अवस्था आएको भन्दै सबैलाई सडक संघर्षमा ओर्लन आह्वान गरे ।

सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल सम्बन्धि विधेयकमा प्रेस र अभिव्यक्ति स्वतन्त्रताविरोधी प्रावधान राखिएको भन्दै पत्रकारहरुको साझा संगठन नेपाल पत्रकार महासंघले त्यसविरुद्ध आन्दोलन घोषणा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: