चालकको लापर्वाहीले सडक दुर्घटना « Nagarik Khabar

चालकको लापर्वाहीले सडक दुर्घटना



रुपन्देही । प्रदेश नम्बर ५ मा भएका अधिकांश सवारी दुर्घटना चालकको लापर्वाहीका कारण भएको देखिएको छ ।

संयुक्त राष्ट्रसङ्घ नेपाल, बुटवल जेसिज, ट्राफिक प्रहरी प्रदेश नम्बर ५ र बुटवल उपमहानगरपालिकाको संयुक्त आयोजनामा शनिबार बुटवलमा भएको सडक सुरक्षासम्बन्धी कार्यक्रममा प्रदेश ट्राफिक प्रहरी कार्यालयले चालकको लापर्वाहीका कारण ३९९ दुर्घटना भएको तथ्याङ्क प्रस्तुत गरेको छ ।

यो आर्थिक वर्षको चैतसम्म भएका ७७८ सवारी दुर्घटनामध्ये सबैभन्दा धेरै चालकको कमजोरीले भएको ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक गङ्गाबहादुर सारुले बताए । तीव्र गतिका कारण २८१ दुर्घटना भएका छन् ।

यस्तै, यात्रुको गल्तीका कारण १९, ओभरटेकका कारण १६ वटा दुर्घटना भएका छन् । यान्त्रिक गडबढीका कारण २७, मादक पदार्थ सेवनका कारण १२, ओभरलोडका कारण दुई र मौसमको अवस्थाका कारण पनि दुई वटा सवारी दुर्घटना भएको प्रहरी निरीक्षक सारुले जानकारी दिए । यी दुर्घटनामा ४५१ वटा सवारीमा क्षति पुगेको छ ।

ट्राफिक प्रहरी कार्यालयले प्रस्तुत गरेको तथ्याङ्कअनुसार यो आर्थिक वर्षको आठ महीनामा एक हजार ८६ सवारी दुर्घटना भएका छन् । जसमध्ये सबैभन्दा धेरै ५०५ वटा मोटरसाइकल दुर्घटना भएका छन् । प्रहरी निरीक्षक सारुले हरेक वर्ष सडक दुर्घटना बढेका कारण न्यूनीकरणका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।

कार्यक्रममा सहभागी सरोकारवालाले सडकको सुरक्षा र सवारी दुर्घटना न्यूनीकरणका लागि साझा प्रतिबद्धता जनाए । सडक सुरक्षित नहुँदा नागरिक असुरक्षित भएकाले सबैले मिलेर पहल गर्नुपर्नेमा उनीहरुको जोड थियो ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले सडक सुरक्षाका लागि विद्यालयस्तरबाटै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताए । यातायात व्यवस्था कार्यालय बुटवलका प्रमुख रमेश गौतमले भौतिक संरचनाको अभाव र अनलाइन सेवामा सुधार हुन नसकेका कारण सोचेअनुरुप काम हुन नसकेको धारणा राखे ।

संयुक्त राष्ट्रसङ्घ नेपालका कार्यक्रम विश्लेषक सुदीप अर्यालले जीवनरक्षाका लागि राष्ट्रसङ्घले विश्वभरी सडक सुरक्षा सप्ताह मनाइरहेको बताए । कार्यक्रममा यातायात व्यवसायी रामचन्द्र भुसाल, विष्णु काफ्ले, टिपर व्यवसायी तोया लम्साल, ई–रिक्सा व्यवसायी उदय परियारले सवारी व्यवस्थापन र दुर्घटना न्युनीकरणका लागि स्थायी र प्रदेश सरकारले सक्रियता बढाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: