नेपाली नर्स विदेश पलायन हुने क्रम बढ्दो « Nagarik Khabar

नेपाली नर्स विदेश पलायन हुने क्रम बढ्दो



काठमाडौँ । विश्व नर्सिङ दिवस (आज)आइतबार संसारभर मनाईदैंछ । नेपाल नर्सिङ सङ्घको आयोजनामा नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरिएको छ । हरेक वर्ष मे १२ तारिखलाई अन्तर्राष्ट्रिय नर्सिङ दिवसको रूपमा मनाउने गरिन्छ ।
नेपालमा पनि नेपाल नर्सिङ परिषद् र नेपाल नर्सिङ सङ्घको पहलमा नर्सिङ दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्ने तयारी छ । यो वर्ष ‘नर्सेस अ भोइस टु लिड, हेल्थ इज ह्युमन राईट्’भन्ने नारा रहेको छ ।
अन्तर्राष्ट्रिय नर्सिङ परिषद् आइ सी एन को पहलमा सन १९७४ को जनवरीमा निर्णय गरी फ्लोरेन्स नाइटिङ्गेलको जन्मोत्सवको दिन अर्थात् मे १२ तारिखलाई अन्तर्राष्ट्रिय नर्सिङ दिवसको रूपमा विश्वभर मनाउन थालिएको हो ।
नेपालमा नर्सिङ अध्ययनको शिक्षा वि.सं.२०१३ सालमा विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा वीर अस्पतालबाट औपचारिक रूपमा सुरु भएको मानिन्छ । नेपालको पहिलो नर्स उमादेवी दास हुन् । उनले नर्सिङ शिक्षाको अध्ययन भारतबाट गरेकी थिइन ।
नेपालमा झन्डै १ लाखको हाराहारीमा नर्स रहेको अनुमान छ । बढ्दो बेरोजगारीले दक्ष नर्स विदेश पलायन हुने क्रम चलिरहेको छ । स्वदेशमा पनि केही सरकारी र सीमित निजी क्षेत्रका स्वास्थ्य संस्थामा नर्सहरूले राम्रो सेवा सुविधा पाएपनि बहुसङ्ख्यक स्वास्थ्य संस्थामा नर्सहरू श्रम शोषणमा परेका छन् ।
अमेरिका, बेलायत, युरोपेली देश तथा अष्टेलियामा समेत नेपाली नर्सको माग बढ्दो छ । त्यसैले धेरै नर्स अवसरको खोजीमा विदेश जाने र उतै स्थायी बसोबास गर्ने परम्परा जस्तै बन्न थालेको छ । तर नेपालको ग्रामीण क्षेत्रमा पनि अहिले पनि आम नागरिकले प्रभावकारी स्वास्थ्य सेवा पाउन सकिरहेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: