पाकिस्तानको पाँच तारे होटलमा आक्रमणः एक सुरक्षाकर्मीको मृत्यु « Nagarik Khabar

पाकिस्तानको पाँच तारे होटलमा आक्रमणः एक सुरक्षाकर्मीको मृत्यु



एजेन्सी । पाकिस्तानको ग्वादरस्थित एक पाँच तारे होटलमा हतियारधारीले आक्रमण गरेका छन् । बलुचिस्तान प्रान्तमा पर्ने ग्वादरस्थित पर्ल कन्टिनेन्टल होटलमा तीन जना हतियारधारीको आक्रमणबाट एक सुरक्षाकर्मीको मृत्यु भएको छ ।

होटलका प्रवक्ताका अनुसार रमजान र विदाको कारण होटलमा पाहुनाहरु थिएनन् । कर्मचारीहरु पनि कम थिए । यद्यपि होटलभित्र अझै पनि केही कर्मचारी रहेको अनुमान छ ।अलगावादी संगठन बलोचिस्तान लिब्रेसन आर्मी (बीएलए)को माजिद ब्रिगेडले आक्रमणको जिम्मेवारी लिएको छ । बीएलएले चीन र विदेशी सहयोगलाई निशाना बनाउँदै आक्रमण गरेको जनाएको छ ।

बीएलए समूहसँग आबद्ध रहेको बताइने एक ट्वीटर अकाउन्टमा लेखिएको छ, चीन र पाकिस्तानमा अझै हमला गरिने छ ।ग्वादर चीन र पाकिस्तानको बीच आर्थिक करिडोरको मुख्य केन्द्र हो जहाँ चीनका धेरै इन्जिनियर र कर्मचारी छन् । ग्वादरको पश्चिमी सीमा इरानसँग जोडिएको छ । यहाँको सीमा क्षेत्रमा कच्ची बाटो छ, त्यसैले बिभिन्न व्यक्तिहरुको आवत जावत भइरहन्छ ।

बलुचिस्तान पाकिस्तानको सबैभन्दा गरिब र कम विकसित प्रान्त हो । यहाँ लामो समयदेखि अलगाववादी अभियान चलिरहेको छ । बलुचिस्तानमा स्थानीय अलगाववादी संगठन (बीएलए)ले चिनियाँ सहयोगको विरोध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: