काठमाडौ । नेपाली कांग्रेस निकट कर्मचारी संगठनभित्रको आन्तरिक विवाद तीव्र बनेको छ। विवाद बढ्दै जाँदा शनिबार जुम्लामा बसेको बैठकमा नेपाल निजामती कर्मचारी युनियन (संघ)को चौथौ पूर्ण केन्द्रीय समितिको बैठक महासचिवसहित १३ पदाधिकारीले बहिस्कार गरेका छन्।
८५ सदस्यीय केन्द्रीय समितिमा अध्यक्ष गोपाल पोखरेल, वरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारी, उपाध्यक्ष उत्तम कटुवाल, सचिव नवराज पाण्डे, यज्ञ ओलीसहित ५५ जना बैठकमा सहभागी छन्। महासचिव सुभाष कोइराला, उपमहासचिव यज्ञराज अर्याल, सचिव जनक रावल, कोषाध्यक्ष धर्मेस गौतम, सचिव शंकर पाण्डे, अशोक रौनियारसहितका केन्द्रीय समितिका ३० जना सहभागी छैनन्।
‘जुम्लामा बोलाइएको भनिएको बैठक पूर्णरूपमा अवैधानिक छ। अध्यक्षको सल्लाहमा संगठनको महासचिवले बैठक बोलाउनुपर्ने व्यवस्था हुँदाहुँदै अध्यक्षले एकलौटी ढंगले बैठक बोलाउनुभयो,’ महासचिव कोइरालाले भने, ‘बैठक बोलाइएको जानकारी कार्यालय सचिवले गराए। यस्तो कहीँ हुन्छ ?’ जुम्ला बैठकमा बहुमत केन्द्रीय सदस्यको उपस्थिति रहेको दाबी गर्दै अध्यक्षनिकट सचिव नवराज पाण्डेले भने, ‘अनुपस्थित पदाधिकारी तथा सदस्य अधिकांश व्यक्तिगत र स्वास्थ्यका कारण मात्र अनुपस्थित हुनुभएको हो। उहाँको बैठक बहिस्कार गर्ने नीति होइन।’यो समाचार आजको नागरिक दैनिकमा प्रकासित छ ।