प्रदेश १ को नामकरण पेचिलो बन्दै « Nagarik Khabar

प्रदेश १ को नामकरण पेचिलो बन्दै



धरान । प्रदेश एकको स्थायी राजधानी विराटनगर तोकिएपछि अहिले नामकरणको विषय पेचिलो बन्न थालेको छ । हिउँदे अधिवेशनले स्थायी राजधानीको टुंगो लगाए पनि प्रदेशको नाम के रहने भन्ने बारेमा कुनै छलफल नगरी अधिवेशन टुंगिएको थियो । राजधानीकै विषयमा पनि धनकुटा असन्तुष्ट रहेको छ । राजधानीको माग गर्दे आएका धनकुटाका जनताले सभासदहरु जिल्ला पुगेको बेला कालो झण्डा देखाएर विरोध गरे । धनकुटाबासी अझै पनि राजधानीको माग गर्दे आन्दोलित छन् ।

यसैगरी यता स्थायी राजधानी तोकिएको विराटनगरबासीहरु पनि प्रदेश सरकार प्रति सशंकित भएका छन् । स्थायी राजधानी विराटनगर तोकिएर पनि बृहत विराट क्षेत्र भित्र अरु मन्त्रालय र राजधानीका संरचनाहरु विकेन्द्रित हुन्छ भन्नेमा विराटनगरबासीहरु सशंकित छन् । राजधानी माग्दै आएको धरान, इटहरी र गोठगाउँका बासिन्दालाई मुख्यमन्त्री शेरधन राईले आश्वसन दिएकै कारण मौन रहेका छन् । विराट क्षेत्रभित्र संरचना विकेन्द्रित हुनाले राजधानीका केही न केही संरचनाहरु पर्नेमा ती क्षेत्रका बासिन्दा ढुक्क छन् ।

स्थायी राजधानी तोकिए पनि प्रदेशको नामकरण एक नम्वर प्रदेश सभाका सदस्यहरुलाई  सकस पर्ने देखिएको छ । प्रदेशको नामङकन ऐतिहासिक पृष्ठभुमि र भूगोलको समिश्रणमा हुनुपर्ने भन्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघिय लिम्वूवान नेपालले आन्दोलन गर्दे आईरहेको छ । यो संगै जातिय संस्था लिम्वूहरुको किरात याक्थुङ चुम्लुङ र राईहरुको किरात राई यायोक्खाले पनि आ आफनो अडान र मुद्दाका साथ नामंङकनको कुरा उठाउदै आएका छन् भने अरु कोशी, विराट र सगरमाथाको पनि निकै चर्चा परिचर्चा हुदै आएको छ ।

तर पछिल्लो सयम किरात याक्थुङ चुम्लुङले पनि प्रदेशको नामंकन ऐतिहासिक पृष्ठभुमिको आधारमा लिम्वू जातिको बहुल वसोवास रहेको अरुण पुर्व नौ जिल्लामा लिम्वूवान हुनुपर्ने र राई जातिको बसोवास भएको क्षेत्रमा किरात प्रदेश नामकरण हुनुपर्ने माग गर्दै आएको किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष कमल तिगेलाले बताए । समग्रमा किरात लिम्वूवान नामंकन हुनुपर्ने उनको धारणा छ ।

यसैगरी किरात प्रदेशको माग गर्दे एक नम्वर प्रदेशमा अभियानहरु संचालन गर्दे आएको जातिय संस्था किरात राई यायोक्खाले भने प्रदेश एकमा बसोवास गर्ने राई, लिम्वू, याक्खा, सुनुवारहरु किराती भएको दावी गर्दे किरात प्रदेश हुनुपर्ने माग गरेको छ । यसैगरी पूर्वमा अरुण पूर्व नौ जिल्ला लिम्वूवान भन्दै आएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्वूवानले भने अरुण पूर्व नौ जिल्ला लिम्वूवान र बाँकी ५ जिल्ला किरात हुनुपर्ने बताउदै आएको छ । लिम्वूवानले १० प्लस एकको अवधारणा अनुसार एक नम्वर प्रदेश लिम्वूवान हुनुपर्ने माग गर्दे प्रदेश संसद भवनमा निरन्तर धर्ना दिदै आएको छ ।

संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघिय लिम्वूवानका सुनसरी अध्यक्ष अमर इजमले अव १० प्लस एकको अवधारणा अनुसार अव सात प्रदेश होईन ११ वटा प्रदेश हुनुपर्ने बताए । उनले ऐतिहासिक पृष्ठभुमि र भूगोलको समिश्रणमा सवैको सर्वस्वीकार्य प्रदेशको नामकरण हुनुपर्ने बताए । १ सय ३२ जातिको बसोवास रहेको एक नम्वर प्रदेशमा सर्वस्वीकार्य नाम राख्न बहस र पैरवीको आवश्यता रहेको विज्ञहरुको भनाई छ । स्थाई राजधानी तोकिएको जस्तो प्रदेशको नामकरण राख्न सहज नभएको विज्ञहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: