७६ वर्षीया नर्स विष्णु दिदीको ५७ वर्षको नर्सिङ पेशा (भिडियो कुराकानी) « Nagarik Khabar

७६ वर्षीया नर्स विष्णु दिदीको ५७ वर्षको नर्सिङ पेशा (भिडियो कुराकानी)



काठमाडौँ । आज (आइतबार) संसारभर विश्व नर्सिङ दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । ७६ वर्षीया वृद्ध विष्णु राई ५७ वर्षसम्म निरन्तर नर्सिङ सेवामा खटिएकी छन् । उनी अहिले पनि आफू पेशामा रमाइरहेको बताउँछिन् ।

ताप्लेजुङमा जन्मिएकी राई ५७ वर्षदेखि निरन्तर नर्सिङ पेशामा आबद्ध छिन् । उनले सन् १९६२ मा ललितपुर नर्सिङ क्याम्पसबाट नर्सिङ शिक्षा हाँसिल गरिन् । पढाई सक्दासाथ उनले नर्सिङ यात्रा सुरु गरिन् ।

ललितपुर नर्सिङ कलेजको स्थापना सन् १९५९मा भएको थियो । देशमा सीमित मात्र अस्पताल थिए । त्यसैले अहिले जस्तो त्यति बेला बेरोजगार बस्नु पर्ने अवस्था नभएको उनी सम्झिन्छिन् ।
विष्णु दिदी अहिले उमेरले साथ नदिएपनि उत्तिकै सक्रिय छन् । उनी काभ्रेको बनेपामा रहेको शिर मेमोरियल हस्पिटल एण्ड कलेज अफ नर्सिङमा प्रिन्सिपलको रूपमा कार्यरत छिन् । त्यति मात्र होइन काठमाडौँ उपत्यकाका विभिन्न नर्सिङ कलेजमा बेलाबेलामा पढाउँछिन् ।

आफूलाई सबैले विष्णु दिदी भनेर चिन्ने गरेको उनी बताउँछिन् । उनलाई नेपालको फ्लोरेन्स नाईटेङगल भन्दै विभिन्न सङ्घसंस्थाले सम्मान समेत गरेका छन् । लामो समय नर्सिङ पेसामा बिताएकाले पेसाको सम्मान गर्नुपर्नेमा उनले जोड दिएकी छन् । ‘पेसाको सम्मान गरेमा,पेसाले पनि आफूलाई सम्मान गर्ने’उनको भनाई छ ।

पहिले पहिले नर्सिङ पेशा कपडा धुने, बेड मिलाउने, कतिपय ठाउँमा सफा गर्ने र सुई लगाउनेमा सीमित जस्तो थियो । सिक्न पनि समस्या थियो । तर आजभोलि प्रविधिले धेरै सजिलो बनाइदिएको उनको अनुभव छ ।

समय अनुकूल परिवर्तन हुँदै जाँदा यो पेशा सम्मान योग्य भएको छ । बिरामीका लागि सबैभन्दा नजिकको साथी भएकाले पनि ‘मीठो मुस्कान र सकारात्मक सोच’ले काम गर्नुपर्नेमा उनले जोड दिएकी छन् । पेशालाई माया गर्नेलाई मात्र पेशाले सम्मान दिने उनको तर्क छ ।

विष्णु  दिदीको नर्सिङ यात्रा (भिडियोमा)

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: