किन रोकियो गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम ? « Nagarik Khabar

किन रोकियो गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम ?



काठमाडौँ । रुपन्देहीको भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम ठप्प भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २० करोड रुपैयाँभन्दा बढी रकम भुक्तानी गर्न ढिलाइ गरेको भन्दै निर्माण कम्पनी नथवेष्टले आइतबार बिहानदेखि निर्माण रोकेको हो ।

सरकारले रकम भुक्तानी नगरेसम्म रन-वे पिच गर्ने काम पूर्णरुपमा रोकिएको कम्पनीले जनाएको छ । राष्ट्रिय गौरवको आयोजना समेत रहेको विमानस्थलको निर्माण चिनियाँ कम्पनी नर्थवेस्टले ६ अर्ब २२ करोड ५१ लाख २० हजार २२८ रुपैयाँमा सम्पन्न गर्ने सरकारसँग सम्झौता गरेको थियो ।

चिनियाँ कम्पनी नर्थवेस्टले तीन साताअघि रकम भुक्तानीको लागि विल मन्त्रालयलाई पठाएको भए पनि हालसम्म भुक्तानी नपाएकोले आइतवारदेखि काम रोकिएको कम्पनीको दाबी छ । पर्यटन मन्त्रालयका अधिकारीले भने अर्थ मन्त्रालयका कारण रकम भुक्तानीमा समस्या भएको बताएका छन् ।

विमानस्थल निर्माणको काम झन्डै ८० प्रतिशत सकिन थालेको छ । त्यस्तो अवस्थामा सरकारले रकम भुक्तानी नगरेपछि कम्पनी समस्यामा परेको नर्थवेष्टको दाबी छ । अन्य भौतिक संरचना निर्माणको काम भने आंशिक रूपमा मात्र रोकिएको छ ।

आगामी असोजसम्म परीक्षण उडान गरेर विमानस्थल सञ्चालनको जिम्मा अन्तरर्राष्ट्रिय कम्पनीलाई दिने सरकारको तयारी छ । केही समय अगाडी अर्थ मन्त्रालयले उक्त विमानस्थल सञ्चालनको लागि दुई विकल्पमा सहमति दिएको थियो ।
मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत विमानस्थल सञ्चालन गर्ने वा प्रतिस्पर्धामार्फत विदेशी सञ्चालक ल्याएर विमानस्थल सञ्चालन गर्न सक्ने गरी दुई ओटै विकल्प खुला गरेको थियो ।
तर, पर्यटन मन्त्रालयले भने नेपाल नागरिक उ्डयन प्राधिकरणले अहिलेकै अवस्थामा विमानस्थल सञ्चालन गरेर त्यसलाई नाफामा लैजान नसक्ने भन्दै प्रतिस्पर्धाबाट विदेशी कम्पनी ल्याउने तयारी थालेको हो ।
मन्त्रालयका कार्यवाहक सचिव आचार्यले विमानस्थलको टावरदेखि अन्य सबै काम सरकारले अनुगमन गर्ने तर विमानस्थल व्यवस्थापनको जिम्मा मात्रै विदेशी कम्पनीलाई दिने बताए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: