रोकियो क्यान्सर रोगीलाई दिइँदै आइएको एक लाख आर्थिक सहायता « Nagarik Khabar

रोकियो क्यान्सर रोगीलाई दिइँदै आइएको एक लाख आर्थिक सहायता



काठमाडौं । सरकारले पाँच महिनादेखि क्यान्सर रोगीहरुलाई दिँदै आएको एक लाख आर्थिक सहायता रोक्का गरिएको खुलासा भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा. पुष्पा चौंधरीले बजेटको अभावमा क्यान्सर रोगीहरुलाई दिइँदै आएको एक लाख रुपैयाँ आर्थिक सहायता पाँच महिनादेखि रोका गर्नु परेको बताएकी हुन् । बजेटको अभाव भएकाले सरकारले हाललाई क्यान्सर रोगीहरुको सूची तयार पार्ने काम पनि स्थगित गरिएको सचिव चौधरीले जानकारी दिइन् ।

आइतबार काठमाडौंमा आयोजित ‘विश्व आँखा क्यान्सर सचेतना सप्ताह’ कार्यक्रममा उनले आँखाको क्यान्सर रोगको उपचारका लागि पनि आगामी आर्थिक वर्षको बजेटमा आवश्यक व्यवस्था गर्ने आश्वासन दिइन् । सचिव चौधरीले क्यान्सरजस्ता जटिल रोगहरुको उपचारका लागि सरकारले कम्तीमा पनि पाँच लाख आर्थिक सहायता उपलब्ध गराउने प्रयास गरिरहेको बताइन् ।

आँखाको प्लाष्टिक शल्य चिकित्सासम्बन्धी नेपाली चिकित्सक समाजले तिलगंगा आँखा अस्पतालसँग सहकार्य गरेर सुरु गरिएको सो कार्यक्रममा आँखाको क्यान्सर र त्यसको रोकथामका विषयमा विस्तृत जानकारी दिइनेछ ।

कार्यक्रममा तिलगंगा अस्पतालका संस्थापक एवम् कार्यकारी निर्देशक डा. सन्दुक रुइतले आँखाको क्यान्सर र त्यसको रोकथामका लागि आवश्यक सबै खालको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । आँखाको उक्त रोगको क्षेत्रमा अनुसन्धान गरिरहेको आँखाको प्लाष्टिक शल्य चिकित्सासम्बन्धी नेपाली चिकित्सक समाजलाई सो रोगबारे विस्तृत जानकारी समेटिएको सूचना अनलाइन सेवामार्फत् पनि सर्वसाधारणले हेर्ने व्यवस्था गर्न ध्यानाकर्षण गराए ।

यो रोग पाँच वर्षमुनिका बालबालिकामा देखा पर्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: