सानातिना कुरामा नअल्मली विकासमा लागौं : मुख्यमन्त्री राई « Nagarik Khabar

सानातिना कुरामा नअल्मली विकासमा लागौं : मुख्यमन्त्री राई



धनकुटा । प्रदेश नम्बर १ का मुख्यन्त्री शेरधन राईले विकास र समृद्धिका मुद्दा केन्द्रित भएर प्रदेशलाई सवल र समृद्ध बनाउनुपर्ने बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सम्पर्क कार्यालयको आइतबार उद्घाटन गर्दै मुख्यमन्त्री राईले सानातिना विषयमा अल्मलिए प्रदेश समृद्ध नबन्ने भन्दै समग्र प्रदेशको विकासमा सकारात्मक भएर समृद्ध प्रदेश निर्माणमा सबै केन्द्रित हुनुपर्ने बताए ।

उनले सबै जिल्ला समृद्ध भए मात्र समग्र प्रदेश समृद्ध हुने भएकाले सङ्घीयताको मर्म र भावनाअनुरुप सबै जिल्लालाई समृद्ध बनाउने अभियानमा प्रदेश सरकार गम्भीरताका साथ लागेको उल्लेख गरे । प्रादेशिक राजधानी धनकुटा नभएको विरोधमा धनकुटामा जारी रहेको आन्दोलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले धनकुटालाई मुख्य प्राथमिकतामा राखेर प्रदेश सरकारले काम गरी रहेको बताउँदै धनकुटालाई अन्यायमा पर्न नदिनेमा आश्वासनसमेत दिए ।

प्रदेश सरकारले धनकुटामा स्थापना कार्यालय जनताको आँखामा छारो हाल्ने मात्र नभई पहाडी जिल्लाको प्रमुख सेवा प्रवाह गर्ने केन्द्र भएकाले बजारमा चलेका होहल्लामा नलाग्न सबैलाई आग्रहसमेत गरे । केही दिनभित्रमा नै प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठक धनकुटामा बसी धनकुटालगायत पहाडी जिल्लाको हितमा थप निर्णय गरिनेसमेत मुख्यमन्त्री राईले कार्यक्रमका अवसरमा बताए ।

सो अवसरमा सङ्घीय सांसद राजेन्द्र राई, प्रदेशसभा सदस्य इन्द्रमणि पराजुली, जिल्ला समन्वय समिति प्रमुख टङ्क चुवानलगायतले धनकुटामा प्रदेश १ को राजधानी नबनाएकामा गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: