कम अवसर पाएँ, तै पनि आफ्नो प्रदर्शनमा खुसी छु : सन्दीप « Nagarik Khabar

कम अवसर पाएँ, तै पनि आफ्नो प्रदर्शनमा खुसी छु : सन्दीप



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) खेलेर स्वदेश फर्किएका नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले यस पटक आफूले कम अवसर पाएको बताएका छन् । यद्यपि उनले प्राप्त अवसरमा गरेको आफ्नो प्रदर्शनमा भने खुसी ब्यक्त गरेका छन् ।

‘यस पटक गत संस्करणको भन्दा धेरै खेल खेले । यद्यपि अझै पनि कम अवसर पाएँ’, आइतबार स्वदेश फर्कने क्रममा त्रिभुवन विमानस्थलमा सन्दीपले भने, ‘यसमा धेरै कारणहरू रहे । स्थानीय कोटामै दुई लेग स्पिनरहरू थिए । त्यसका साथै हाम्रो टोलीमा अलि बढी ब्याट्सम्यानको खाँचो थियो । त्यसमा अन्तर्राष्ट्रिय खेलाडीको कोटामा प्रतिस्पर्धा गर्नु पर्दा कम अवसर पाएको हुँ ।’

टोलीमा अनुभवी खेलाडीको बाहुल्यता हुँदा हुँदै पनि टोलीमा अवसर पाउनु महत्त्वपूर्ण भएको उनको भनाइ छ । दिल्ली क्यापिटल्सबाट आईपीएल खेलेका सन्दीपले ६ खेलमा अवसर पाएका थिए । जसमा उनले आठ विकेट लिए । सन्दीपले आफ्नो प्रदर्शनमा भने खुसी ब्यक्त गरे ।

‘जति अवसर पाए, त्यसमा राम्रै प्रदर्शन गरें’, सन्दीपले भने, ‘व्यक्तिगत प्रदर्शनसँगै टोलीको उपलब्धिमा पनि खुसी लागेको छ । दिल्लीले पनि यस पटक इलिमिनेटर जितेर क्वालिफायरसम्मको यात्रा तय गर्न सफल भयो ।’

आराम गर्न यही जेठ पहिलो साताबाट हुने भनिएको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता नखेल्ने जनाएका उनी केही समय घरमै रहने छन् । त्यसलगत्तै उनी ब्यक्तिगत कामको सिलसिलामा वैदेशिक भ्रमणमा जाने कार्यक्रम तय भएको छ ।

हेर्नुहोस्, सन्दीपले आइतबार पत्रकारहरूसँग बाढेको आईपीएल अनुभव

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: