प्रदेश ५ को नाम मगरात राख्न माग « Nagarik Khabar

प्रदेश ५ को नाम मगरात राख्न माग



बुटवल । प्रदेश नं ५ मा प्रदेश राजधानी र नामाकरणका विषयमा दलहरुकै बीचमा मत बाझिएको बेलामा मानव पहिचानको आधारमा प्रदेशको नामाकरण मगरात राख्नका लागि मूख्यमन्त्री शंकर पोखरेललाई हस्ताक्षर बुझाईएको छ ।
नेपाल मगर संघ प्रदेश ५ समितिको अगुवाईमा प्रदेश ५ को नाम मगरात स्वायत्त प्रदेशको पक्षमा संकलन गरिएको ११ लाख ७ सय ३५ जनाको हस्ताक्षर आइतबार मूख्यमन्त्रीलाई बुझाईएको हो । नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नविन रोकामगर, उपाध्यक्ष दल बहादुर वीरकट्टामगर, कोषाध्यक्ष कमला थापामगर, सदस्य धन बहादुर पुन, संघका प्रदेश अध्यक्ष बिमल सारुमगर लगायत मगर अगुवा तथा मगरात अभियन्ताहरु संकलित हस्ताक्षर बुझाउन मूख्यमन्त्रीको कार्यालय पुगेका थिए ।
हस्ताक्षर बुझाउँदै संघका केन्द्रिय अध्यक्ष नविन रोकामगरले मगरात मगर समुदायको मात्र नभई यो मानव पहिचान, भूगोल र यस क्षेत्रको इतिहाँस र माटोसंग जोडिएकाले नामाकरणमा दायाँवाया नगर्न मुख्यमन्त्रीसंग आग्रह गरे ।
मुख्यमन्त्री शंकर पोखरेलले हस्ताक्षर बुझ्दै प्रदेश भित्र बसोबास गर्ने सबै समुदायको भावनालाई समेट्ने गरि नामाकरण गर्ने आश्वासन दिए । प्रदेश ५ मा मगर सुमदायको बाहुल्यता रहेकाले प्रदेशको हरेक निर्णय र योजना कार्यान्वयनमा यो सुमदायलाई प्राथमिकतामा राखेर काम गरिएको मुख्यमन्त्रीको भनाई थियो ।
पोख्रेलले नामाकरण र राजधानीका विषयमा आफुहरु बोलीहाल्ने स्थिति नभएको हुँदा मगरातको पक्षमा प्रदेश सरकारलाई स्मरण गराएकोमा धन्यवाद् र खुशी व्यक्त गरे ।
मगर अगुवाहरुको ठूलो संख्या र जनसमुदायको उपस्थितिमा मगरात लेखिएको झण्डा, ब्यानर सहित संकलित हस्ताक्षर बुझाउन पुगेको मगर संघले मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएपछि मूख्यमन्त्री का¥यालय परिसर अगाडि कोण सभा समेत गरेको थियो । सो सभामा संघका केन्द्रिय अध्यक्ष नविन रोकामगरले प्रदेश ५ को नामाकरण मगरात नराखिए आन्दोलन गर्ने चेतावनी दिए । मगरात सबै वर्ग, समुदायको साझा पहिचान रहेको भनाई थियो । उनले मगरातको अगाडि–पछाडि अन्य जुनसुकै सांस्कृतिक, धार्मिक, भौगोलिक अलंकार र शब्दावली जोडिएमा पनि मगर समुदायलाई आपत्ति नहुने बताए।
नेपाल मगर संघ प्रदेश ५ का अध्यक्ष वीमल सारुमगरले संविधानमै स्वायत्त क्षेत्रहरु बनाउन सकिने उल्लेख रहेको बताउँदै रुकुम पूर्वदेखि पाल्पासम्मको पहाडी क्षेत्रलाई मगरात स्वायत्त क्षेत्र बनाइनुपर्ने उल्लेख गरे। सरकारले माग सम्बोधन नगरे कडा आन्दोलन थाल्ने उनले चेतावनी दिए । प्रदेश ५ मा सबैको पहिचान खुल्नेगरी नामाकरण गर्नुपर्ने मगर अगुवाहरुको भनाइ छ ।
यसअघि नामाकरण सम्बन्धमा मगर संघले संघीय र प्रदेश सरकारलाई पटक–पटक ज्ञापन पत्र बुझाईसकेको छ । २०६८ को जनगणना अनुसार प्रदेश ५ मा मगरको जनसंख्या ७ लाख १ हजार ५ सय ८७ छ । मगर संघले प्रदेश ५ को कूल जनसंख्याको १९ प्रतिशत मगर समुदाय रहेको दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: