काठमाडौं । सिंहदरबारभित्र ५६ रोपनी क्षेत्रफलमा बनाइने संसद भवनको डिजाइन अन्तिम चरणमा पुगेको छ । करिब दश अर्बको लगानीमा निर्माण गरिने भवनको डिजाइनलाई जेठको दोस्रो हप्ता अन्तिम रूप दिएर ‘ग्लोबल टेण्डर’ प्रक्रियामा लैजाने शहरी विकास मन्त्रालयको तयारी रहेको समाचार आजको गोरखापत्रमा छापिएको छ ।
अर्बौ भाडामै खर्च
नेपाल सरकारले बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई २०६५ सालदेखि संसद बैठकका लागि भाडामा प्रयोग गर्दैआएको छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिलाई मासिक १५ करोड रुपियाँ भाडा तिर्दा अर्बौ रुपियाँ भाडामै खर्च भइसकेको छ ।
शहरी विकास मन्त्रालयका सहसचिव तथा प्रवक्ता कृष्णप्रसाद दवाडीका अनुसार, जेठको दोस्रो हप्ताभित्र डिजाइन कार्यलाई अन्तिम रुप दिएर ‘टेण्डर’ प्रक्रियामा लगिनेछ । यसका लागि ग्लोबल ‘टेण्डर’ आह्वान गरिने छ ।
अत्याधुनिक र बलियो
उहाँका अनुसार, २०७८ सालको असारसम्म संसद परिसर निर्माण गरिसक्ने लक्ष्य छ । अन्तर्राष्ट्रिय स्तरको यो भवन परिसर नेपालको अहिलेसम्मकै अत्याधुनिक र बलियो हुने दाबी उहाँको छ । सिंहदरबारको उत्तर–पूर्वमा रहेको पुतली बगैँचामा संसद परिसर निर्माण गरिने छ ।
यस्तो बन्नेछ संसद परिसर
-मुलुकको भवन निर्माणको इतिहासमा अहिलेसम्मकै सबभन्दा ठूलो आयोजनाको रुपमा संसद परिसर निर्माण हुँदैछ ।
-प्रस्तावित संसद परिसरमा माथिल्लो सदन, तल्लो सदन, संसद सचिवालय, राजनीतिक दलका संसदीय दलको कार्यालय, विभिन्न समितिका भवन र तिनका हल, करिब तीन सयजना क्षमताको सुरक्षाकर्मी भवन छुटाछुट्टै निर्माण गरिने छ ।
-परिसर भवनमा तीनतले स्मार्ट पार्किङस्थल समेत निर्माण गरिने छ ।
-परिसरमा राष्ट्रपति, प्रधानमन्त्री, विदेशी विशिष्ट पाहुनाबाट हुने विशेष सम्बोधनका लागि दुइटै संसदका सदस्य र विशिष्ट पाहुनाहरु समेत अटाउने एक हजार क्षमताको विशाल सभाहल समेत निर्माण गरिने छ ।
-परिसरमा भीभीआईपी, सांसद, कर्मचारीलगायत विभिन्न तह र दर्जाका लागि छुटाछुट्टै प्रवेशद्वार निर्माण गरिने जनाइएको छ ।
-संसद परिसरमा बगैँचा र चौर रहने छ ।