बढ्दो सडक दुर्घटनाः ६ घण्टामा ६ जनाको मृत्यु « Nagarik Khabar

बढ्दो सडक दुर्घटनाः ६ घण्टामा ६ जनाको मृत्यु



काठमाडौं । देशका विभिन्न भागमा भएको सडक दुर्घटना परी ६ जनाले ज्यान गुमाएका छन् । ६ घण्टाको अवधिमा भएका ५ वटा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको हो । आइतबार दिउँसो चार बजेदेखि राति करिब ११ बजेसम्मको अवधिमा दाङ, बाँके, कपिलवस्तु, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र सिराहामा भएका दुर्घटनामा परी ६ जनाको ज्यान गएको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

दुर्घटनामध्ये दाङ दंगिशरण गाउँपालिका ६ श्रीगाँउस्थित सडकमा ग.१ ज ५६६४ नम्बरको जीपले ठक्कर दिँदा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने देवीलाल पुनको ७ वर्षीय छोरा किरण पुनको प्राथमिक स्वास्थ्य केन्द्र बागरमा उपचारको क्रममा मृत्यु भएको छ । जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै बाँके राप्ती सोनारी गाउँपालिका १ स्थित सडकमा रा.१ क ८५० नम्बरको ट्रकले भे.६ प ९८२३ नम्बरको मोटरसाइकल र साईकलयात्रीलाई ठक्कर दिंदा गम्भीर घाइते भएका साइकलयात्री सोही ठाउँ बस्ने ४२ वर्षीय गोबिन्द कुमालको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही ठाउँ बस्ने २४ वर्षीय बिनोद वली, मोटरसाइकलमा सवार २८ वर्षीय हिम बहादुर कुमाल र २५ वर्षीय गणेश कुमालको सोही अस्पतालमा उपचार भइरहेको छ । यसैगरी कपिलवस्तु, कपिलवस्तु नगरपालिका ९ स्थित सडकमा लु.९ प ४६६४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक मायादेवी ७ वतनपुर बस्ने ४० वर्षीय सर्वजित यादव र मोटरसाइकलमा सवार कपिलवस्तु नगरपालिका ६ रमुवापुर बस्ने ३५ वर्षीय सेतु यादवको जिल्ला अस्पतालमा तौलिहवामा उपचारको क्रममा दुबै जनाको मृत्यु भएको छ ।

यसैगरी नवलपरासी बर्दघाट सुस्ता पूर्व मध्यबिन्दु नगरपालिका१० अरुणखोला दुम्किबास जङ्गलस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा हाल नाम, थर, वतन नखुलेका ३५ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको छ । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ । यसैगरी सिराहा धनगढीमाई नगरपालिका ११ सोनापुरस्थित सडकमा ना.३ ख ६९७८ नम्बरको बसले ठक्कर दिँदा गम्भीर घाइते भएका बरियारपट्टी गाउँपालिका ४ बस्ने ८० वर्षीय देवीलाल यादवलाई उपचारको लागि स्थानीय अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भऐको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: