सागको मस्कट कृष्णसार, लोगोमा परेवा « Nagarik Khabar

सागको मस्कट कृष्णसार, लोगोमा परेवा



काठमाडौं । मंसिरको दोस्रो साता नेपालमा आयोजना हुने तय भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा कृष्णसारलाई मस्कटको रुपमा प्रयोग गरिने भएको छ । यस्तै, प्रतियोगिताको लोगोमा परेवा राखिने निर्णय भएको छ ।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माको संयोजकत्वमा हालै बसेको प्रतियोगिता तयारी तथा व्यवस्थापन मुल समारोह समितिको बैठकले मस्कट र लोगोसम्बन्धी प्रस्ताव पारित गरेको हो ।

नेपालमा पाइने कृष्णासारको संरक्षणमा टेवा पुर्‍याउने उद्देश्यले दक्षिण एसियाली खेलकुदको महाकुम्भ मेला साग खेलकुदमा कृष्णसारलाई मस्कटको रुपमा प्रयोग गरिने भएको हो । यस्तै, नेपालको सामाजिक र परम्परागत विश्वास र मान्यतामा शुभ मानिने परेवालाई लोगोको रुपमा प्रयोग गरिने भएको छ ।

लोगोमा परेवाको पुच्छरको सात प्वाखलाई सात रंग दिइने छ । जसले साग खेलकुदमा सहभागी हुने सात राष्ट्रको प्रतिनिधित्व गर्ने बताइएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष पिताम्बर तिम्सिनाले साग खेलकुदका लागि मस्कट र लोगोबारे अन्तिम निर्णय गरिएको जानकारी दिए ।

‘हामीले नेपालमा आयोजना हुने साग खेलकुदबारे हालै बसेको तयारी तथा व्यवस्थापन मुल समारोह समितिको बैठकमार्फत केही महत्त्वपूर्ण निर्णय गरेका छौं’, उपाध्क्ष तिम्सिनाले भने, ‘जसमध्ये कृष्णसारलाई मस्कट र प्रतियोगिताको लागोमा परेवालाई प्रयोग गर्ने निर्णय भएको छ ।’

१३औं साग खेलकुद आगामी मंसिरको १५ देखि २५ गतेसम्म नेपालमा आयोजना हुने तय भएको छ । तयारी तथा व्यवस्थापन समितिको बैठकले जेठको पहिलो साताबाटै हालै सम्पन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरूलाई बन्द प्रशिक्षण सुरुवात गर्नेलगायत अन्य धेरै निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: