कोरा अर्थशास्त्रले मात्रै मुलुक बन्दैन : अर्थमन्त्री खतिवडा « Nagarik Khabar

कोरा अर्थशास्त्रले मात्रै मुलुक बन्दैन : अर्थमन्त्री खतिवडा



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्रियसभा सदस्यहरुबाट आएका रचनात्मक सुझावलाई बजेट निर्माणका क्रममा आधार बनाइने विश्वास व्यक्त गरेका छन् ।

राष्ट्रियसभाको सोमबार बसेको बैठकमा आगामी वर्षको विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तबारे उठेका जिज्ञासाको जवाफ दिँदै मन्त्री खतिवडाले उपयुक्त सुझावहरुलाई बजेट निर्माणको आधार बनाउने बताएका हुन् ।

स्थानीय पूर्वाधार विकासका सन्दर्भमा उठेका जिज्ञासाहरुलाई मनन् गरिएको भन्दै मिलाउन सक्ने विषयलाई विधिवत ढंगले समावेश गरिने बताए । ‘कोरा अर्थशास्त्रले मात्रै मुलुक नबन्ने भएकाले सिद्धान्तलाई व्यवहारिक ढंगले कार्यान्वयनमा लैजानुपर्छ,’ मन्त्री खतिवडाले भने, ‘विकृति हटाउने नाममा राम्रो प्रणाली फाल्न हुँदैन । सामुहिक प्रणालीमा देखिएका समस्या समाधान गर्दै वित्तीय प्रणालीलाई विकास गर्दै लैजानुपर्छ ।’

छोटो अवधिमा वित्तीय संघीयता कार्यान्वयन गर्ने तथा स्रोतको बाँडफाँडको विषयमा अधिकांश कुराहरु भएको र आवश्यक कानुनहरु बनेको भन्दै उनले वित्तीय संघीयता कार्यान्वयन पूर्ण नभए पनि उल्लेख्य मात्रामा अघि बढेको दाबी गरे । संघीयता कार्यान्वयनमा सरकार अघि बढ्ने भन्दै त्यसमा कुनै पनि प्रकारको शंका नगर्न आग्रह गरे ।

संघ, प्रदेश र स्थानीय तहबीचको सहकार्य र परिपुरक भूमिकाअनुसार नै आर्थिक र राज्य प्रणाली सञ्चालन हुनेमा अर्थमन्त्री खतिवडाले विश्वस्त पारे ।

उनले नेपालको विकासमा सहयोग गर्ने अन्तर्राष्ट्रिय निकायको भूमिकालाई पनि विर्सन नहुने भन्दै अन्तरसम्बन्धित रहेर चनाखो भई सोही आधारमा बजेटका सिद्धान्त र प्राथमिकता तय गरिनुपर्ने बताए । राष्ट्रिय पूँजी निर्माण नगरी राष्ट्रिय सवल अर्थतन्त्र निर्माण नहुने भएकाले राष्ट्रिय बचत गर्ने क्षमता र राष्ट्रिय उत्पादनलाई परिचालन गर्ने क्षमता वृद्धि गरी न्यायिक समाज र सवल अर्थतन्त्र निर्माण गर्दै जानुपर्ने सोच नुसारको सिद्धान्त र प्राथमिकतामा बजेट अघि बढ्ने स्पष्ट पारे ।

अर्थमन्त्री खतिवडाले क्षेत्रगतभन्दा पनि नीतिगत, कार्यक्रमिक, परियोजना र आयोजनागत प्राथमिकताका आधारमा बजेटका प्राथमिकता तय हुने बताए । साधन स्रोत तथा राजस्वको बाँडफाँडलगायतलाई मानव विकास सूचांकलगायतका आधारमा क्षेत्रीय सन्तुलन कायम गर्नेतर्फ सरकार गम्भीर रहेको उनको भनाइ छ । वैदेशिक रोजगारीलाई निरुत्साहित गर्दै विप्रेषणमा आधारित अर्थतन्त्रलाई स्वदेशी उत्पादन, बचत र आफ्नै राष्ट्रिय पूँजीबाट सञ्चालित हुने अर्थ प्रणालीतर्फ लैजान सके आयातमुखी भनिएको अर्थतन्त्रमा सुधार आउने भएकाले यसलाई प्राथमिकता दिइने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: